धौलागिरि खबर

धवलागिरीका आवासबिहीनलाई गाउपालिकाले बनाइदियो घर


बेनी ः बर्षौदेखि टहरामा बस्दै आएका धवलागिरी गाउपालिका –६ मराङको आरबाङका तुलबहादुर रोका सुरक्षित आबासको सुबिधा पाएपछि दंग पर्नुभएको छ

सात जना सदस्य रहेका रोकाका परिवारका लागि धवलागिरी गाउपालिकाले “आवास बिहिन जनतासँग वडा अध्यक्ष” कार्यक्रम मार्फत घर निर्माण गरिदिएको हो । “यसअघि पालले छाएको छाप्रोमा कष्टकर रुपमा बस्दै आएका थियौ,” रोकाले भन्नुभयो “आफ्नै घर बनेपछि ढुक्क र सुरक्षित भएका छौ ।”

आरबाङका तुलबहादुर रोकाको परिवार । तस्बिर धौलागिरि खबर
Rara Auto Mobiels

चिसो भुईमा खाना पकाउने देखि सुत्ने सजिलो ठाउँ थिएन् । आफन्तको घरको एउटा कोठामा बस्दै आएका धवलागिरी गाउपालिका–२ खोरीयाका सुरेश पुनका परिवार गत महिनादेखि आफ्नै घरमा सरेका छन् ।

आरबाङका तुलबहादुर रोकाको परिवार घर नहुँदा बसेको टहरा । फाइल तस्बिर धौलागिरि खबर

पाँच जनाको परिवार भएका सुरेशका लागि पनि गाउपालिकाले दुई कोठे घर र शौचालय निर्माण गरिदिएको थियो । आवास बिहिन ८ परिवारका लागि गत आर्थिक वर्षमा धवलागिरी गाउपालिकाले घर निर्माण गरिदिएको छ ।

रु.चालीस लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । मच्छिमका तुलकुमारी शेरचन, सोलबाङका भिमबहादुर गुरुङ, मुदीका खगिन घर्ति, खिवाङका बमबिर घर्ति र मुनाका लाटा दमाइको घर निर्माण भएको छ ।

ताकमका डिलबहादुर कामीको घर निर्माण भएपनि पहिरोका कारण भत्किएकाले पुननिर्माण गर्नुपर्ने भएको वडा अध्यक्ष कलानिधि शर्माले बताउनुभयो । गाउपालिकाले एउटा घर बनाउन रु. पाँच लाख बजेट उपलब्ध गराएको गरेको थियो ।

सो बजेटबाट भूकम्प प्रतिरोधी क्षमताको घर बनाएर हस्तान्तरण गरिएको धवलागिरी–२ का वडा सदस्य मोतिप्रसाद पाइजाले बताउनुभयो । “छिमेकी र आफन्तहरुले श्रमदान गरेर घर निर्माण गरेका हौ,” उहाले भन्नुभयो “आफ्नै घरमा बस्न पाउँदा खुसी भएका छन् ।”

संघीय र प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नसमेट्ने दलित जाति बाहेकका विपन्न आवास बिहीनको लागि धवलागिरी गाउपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

“ताकममा बनाएको एउटा घर पहिरोले पुरियो, फिरन्ते शैलीमा जिवन बिताइरहेका खिवाङका बमबिर र गौमायालाई घरमा नियमित राख्न अलि समस्या भएको छ,” उहाँले भन्नुभयो “बाँकी छ परिवार एकदमै खुसी भएर आफ्नै घरमा बसेका छन् ।”

जग्गा भएर पनि आर्थिक अभाव र गरिबीका कारण अरुको घर, गोठ, टहरामा बस्नेहरुको पहिचान गरेर सुरक्षित आवासको ब्यवस्था मिलाउन कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष पुनले बताउनुभयो ।

यसैगरी गण्डकी प्रदेश सरकारले म्याग्दीका १२० आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान उपलब्ध गराउन छनौट गरेको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालयले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउन छनौट गरेको हो ।

जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत रहेका प्रदेश सांसद बिनोद केसीले बेनी नगरपालिकाका २१, अन्नपूर्ण गाउपालिकाका १४, धवलागिरीका २५, मंगलाका १६, मालिकाका २२ र रघुगंगाका २२ परिवार छनौट भएका जानकारी दिनुभयो । ६२३ परिवारले आवेदन दिएका थिए ।

राष्ट्रिय दलित आयोगमा सूचिकृत दलित समुदायका घर बिहीनले चार किस्तामा रु. तीन लाख पचास हजार रुपैया पाउनेछन् । ‘‘जिर्ण अवस्थाको घर, टहरा, गोठ र ओढारमा बस्नुपर्ने अवस्था हटाउन यस्तो कार्यक्रम ल्याइएको हो,’’ सांसद केसीले भन्नुभयो ।

कुल रकम मध्य जग खनेपछि २५, डिपिसी गरेपछि तीस, गाहे लगाएपछि ३५ र शौचालय निर्माणका साथै छानो हालेपछि अन्तिम दश प्रतिशत पाउने व्यवस्था छ । आर्थिक वर्ष २०७४÷७५ मा ६६ र २०७५÷७६ मा ८० वटा घर निर्माण भएका छन् ।

गत वर्ष सम्झौता भएका ९५ मध्य ७१ वटा घर निर्माण सकिएको छ । अनुदान पाउने लाभग्राहीले कार्यालयले बनाएको नक्सा र मापदण्ड अनुसार दुई कोठे भवन बनाउनुपर्नेछ । यो संघीय सरकारबाट प्रदेशमा हस्तान्तरित कार्यक्रम हो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...