धौलागिरि खबर

डम्मराबासीद्धारा बेनी–दरवाङ सडक बन्द

बेनी, । ठेकेदारले मर्मत र जोखिममा परेका बस्ति संरक्षणमा बेवास्ता गरेपछि बेनी नगरपालिका–६ डम्मराका बासिन्दाले म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरबाङ सडक शुक्रबार दिउँसोदेखि बन्द गराएका छन् ।

डम्मरामा सडकमा गरालो राखेर सवारी आवत जावत गर्न रोक लगाएका हुन् । ठेकेदारले भत्काएको सडक मर्मत तथा जोखिममा परेको बस्तिको संरक्षणमा बेवास्ता गरेकाले सडकनै बन्द गराएर आन्दोलनमा उत्रनुपरेको स्थानीय बिशाल खत्रीले बताउनुभयो ।

‘जथाभावी सडक निर्माण गरेका कारण दर्जनौ घर भत्कने अवस्थामा छन्,’ उहाले भन्नुभयो ‘हिलाम्मे सडक मर्मतमा पनि वास्ता नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको हो ।’ सडक बन्द हुँदा मंगला, मालिका र धवलागिरी गाउपालिकाका बासिन्दालाई आवत जावतका साथै ढुवानी प्रभावित भएको छ ।

बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको पुर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नारायण पौडेलले ठेकेदारनै सम्पर्कमा नभएकाले मर्मत तथा जोखिमयुक्त ठाउँमा संरक्षणको काम गर्न समस्या भएको बताउनुभयो ।

‘बल्ल बल्ल डोजर अपरेटर खोजेर पल्टिन लागेको पर्खाल हटाउन पठाउदैछौ,’ उहाले भन्नुभयो ‘लकडाउन भएपछि गएका ठेकेदार सम्पर्कमै छैनन् । पहिरोले छिया छिया बनाएको छ । मर्मत गर्न समस्या भएको छ ।’

२०६३ मा ट्याक खुलेको करिब डेढ दशकसम्म पनि स्तरोन्नतिले पूर्णता नपाउँदा पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

ट्याक खुले लगत्तै तत्कालिन विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप)ले करोडौ खर्चेर सञ्चालन गरेको सडक सुधारको काम प्रभावकारी भएन । २०७४ देखि सडक डिभिजनले कालोपत्रेका लागि सुरु गरेको स्तरोन्नतिको कामले पनि गति लिन सकेको छैन् ।

यात्रुहरु साँघुरो, खाल्डाखुल्डी, ग्रेड र मोड सुधार नभएको जिर्ण सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । २४ किलोमिटर दुरीको यो सडक पार गर्न गाडीमा साढे दुई देखि तीन घण्टा लाग्छ ।

बर्खामा हिलो र हिउँदमा धुलोले हैरान बनाएको छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले २०७४ असोज ४ गते बेनी देखि बाबियाचौर खण्डको १३ किलोमिटर सडक कालोपत्रे गर्न समानान्तर लामा जेभीसंग ४५ करोड ५३ लाख ७२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७६ माघ ४ गते सकिनुपर्ने यो आयोजनाको असार मसान्तको भौतिक प्रगति करिब पचास प्रतिशत प्रतिशत छ । संघबाट २०७५ पुषमा प्रदेशको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो । आयोजना ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा काम सुस्त बनेको कार्यालयका प्रबाधिकहरुले बताएका छन् ।

११ मिटर फराकीलो बनाइने सडकको सात मिटर चौडाई कालोपत्रे गर्न लागिएको हो । लाम्पाटा देखि दरवाङ खण्डको ८ किलोमिटर खण्डको सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा २०७६ जेठ ३१ गते ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभीले पनि कामलाई गति दिन सकेको छैन् ।

सोही सडकको दुखुखोलामा करिब दश वर्षपछि मोटरेबल पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक कालोपत्रे भएमा आवत जावत र ढुवानी सहज बन्नुका साथै म्याग्दीको पश्चिमी क्षेत्रको पूर्वाधार, आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस
Loading...