
बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर स्थित खेलमैदानमा प्याराफिट निर्माण भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा खेल अवलोकन गर्ने दर्शक बस्ने प्याराफिट निर्माण भएको हो ।
मन्त्रालयको पचास लाख रुपैयाँ सहयोगमा खेलमैदानको डिलतर्फ प्याराफिट बनाइएको उपभोक्ता समितिका अध्यक्ष गणेश बोगटीले जानकारी दिनुभयो । ‘५ स्टेप भएको ६० मिटर लम्बाई र २.७० मिटर चौडाई भएको प्याराफिट निर्माण भएको छ,’ उहाले भन्नुभयो ‘प्याराफिट माथि १० फिट अग्लो तारजाली लगाएका छौ ।’



धौलागिरि क्षेत्रकै ठूलो क्षेत्रफल भएको खेलमैदान बनाउन आवश्यक पर्ने जग्गा भएका कारण यसलाई रंगशालाकै रुपमा अघि बढाउन मन्त्रालयले चासो दिएको छ । कोरोनाको जोखिम र बन्दाबन्दीको बीच स्थानीय मजदुर परिचालन गरेर प्याराफिट बनाइएको हो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा बजेट बिनियोजिन भएको थियो ।
हाल १६० मिटर लम्बाई र १०० मिटर चौडाई भएको खेलमैदानलाई अझै विस्तार गर्न सकिने जग्गा छ । ११÷११ जना खेलाडीलाई फुटबलका साथै एथलेटिक्स र दौड प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।
बागलुङ, म्याग्दी र पर्वतको पायक पर्ने ठाउँ भएकाले रत्नेचौर खेलमेदानमा पूर्वाधार भएमा ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने स्थानीय युवा सुजन थापाले बताउनुभयो ।अघिल्लो वर्ष २० लाख रुपैयाँको लागतमा खेलमैदान परिसरमा मञ्च निर्माण भएको छ । त्यसअघि दश लाख रुपैयाँको लागतमा २०० मिटर तारजाली लगाइएको थियो ।

