धौलागिरि खबर

म्याग्दी उद्योग वाणिज्य संघद्धारा अनुदानको दुरुपयोग

Hariyali Groups Pvt Ltd

बेनी,। जडिवुटी खेती गर्ने कृषकको लागि आएको अनुदान हत्याएर म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा बनाएको भवन भाडामा लगाएको छ ।

कृषकहरुले उत्पादन गरेको जडिबुटी भण्डारण गर्ने उद्देश्यले सरकारी अनुदानमा आफ्नो भवनको तला थपेको संघले गैरसरकारी संस्थालाई भाडामा लगाएर दुरुपयोग गरेको हो ।

डिभिजन बन कार्यालय म्याग्दी मार्फत आर्थिक वर्ष २०७५÷७६ मा संघलाई सहकारी मार्फत जडिबुटी उत्पादन, खेति बिस्तार, भण्डारण, प्रसोधन र बजारीकरण कार्यक्रमका लागि १४ लाख २५ हजार रुपैयाँ अनुदान प्राप्त भएको थियो ।

Rara Auto Mobiels

सो अनुदानबाट संघले कार्यालय भवनको माथिल्लो तलामा एक वटा कोठा बनाएको थियो । कुल सत्र लाख ८१ हजार रुपैयाँ लागत अनुमान गरिएको कोठा बनाउन संघले तीस प्रतिशत लगानी गरेको देखाएको छ ।

जडिबुटी भण्डारणका लागि संघले बनाएको कोठामा प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको प्रधान कार्यालय राखिएको छ । जडिबुटी हुनुपर्ने कोठाभित्र सोफा, दराज, कुर्ची र टेबुल छन् ।

उद्देश्य विपरित भवन भाडामा लगाएर उद्योग बाणिज्य संघले सरकारी अनुदानको दुरुपयोग गरेको गुनासो आएको छ । डिभिजन बन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले अघिल्लो आर्थिक वर्षमा निर्माण भएको उक्त भवनको सम्झौता अनुसारको काम भएपछि भुक्तानी भएको बताउनुभयो ।

अनुदान लगेर उद्देश्य अनुसार काम नगर्नेलाई के गर्ने भन्ने बिषयमा स्पष्ट ब्यवस्था नहुँदा समस्या भएको खनालको भनाई छ । ‘अघिल्लो आर्थिक वर्षमै बनेको भवन हो,’ उहाले भन्नुभयो ‘जे उद्देश्य हो त्यही अनुसार प्रयोग भए राम्रो हुने हो । उद्देश्य विपरित प्रयोग गर्नेलाई के गर्ने भन्ने स्पष्ट ब्यवस्था छैन् ।’

म्याग्दीको गुर्जा, मुदी, चिमखोला, कुइनेमंगले लगायतका उच्च पहाडी क्षेत्रका जंगलमा जडिबुटी पाइन्छ । जंगलमा संकलन गरेर ल्याएको जडिवुटी भण्डारण गर्ने सुबिधा सम्बन्धित ठाउँका कृषकलाई छैन् । उनिहरुले आफ्नै घरघरमा जडिबुटी भण्डारण गर्छन् । जडिबुटि संकलन हुने ठाउँमा बनाउनुपर्ने पूर्बाधार बजारमा बनाउदा कृषकको पहुँचमा छैन् ।

Chadani auto head

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले भवन बनाएपनि जडिवुटी संकलकहरुले चासो नदेखाएका कारण रित्तै राख्नु भन्दा मोनाको कार्यालय सञ्चालनका लागि भाडामा दिएको बताउनुभयो । उहाँका अनुसार मोनालाई कोठा भाडामा दिएको तीन महिना भयो ।

जडिबुटी संकलक तथा निकासीकर्ताहरुले माग गरेमा भवनको भुई तलामा खाली हुन लागेको कोठामा भण्डारणको ब्यवस्था मिलाउने अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

‘एक वर्षसम्म खाली राख्यौ, कोही ब्यापारी र संकलन सम्पर्कमा आउनुभएन्,’ उहाँले भन्नुभयो ‘खाली राख्नुभन्दा मोनाको कार्यालयका लागि दिएका हौ । जडिवुटी भण्डारणका लागि आउनुभयो भने तल्लो तलाकै कोठा उपलब्ध गराउछौ ।’

गाउँबाट ल्याएर निकासीका लागि लैजाने क्रममा बेनीमा अनुमति लिने समय सम्मका लागि राख्नका लागि सो कोठा बनाइएको हो । तर ब्यापारीहरुले सानो परिणाममा ल्याउने जडिबुटी आफूसँगै राख्ने गर्छन् । कतिपय ब्यापारीहरुले तत्कालै निकासी गरिहाल्ने भएकाले भण्डारणको पनि आवश्यकता नपर्ने बताउँछन् ।

डिभिजन बन कार्यालयका अनुसार गत आर्थिक वर्षमा म्याग्दीबाट १९ प्रकारका जडिबुटी संकलनका लागि पुर्जी जारी भएको थियो । अतिसजरा, बिष, नागबेली, खिरौले, लोक्ता, भिरमह, रातो च्याउ, निरमसी, कुट्कीजरा, सतुवाको गानो, पदमचालजरा, पानीअमला, पाषणभेद जरा, सुगन्धवाल, कुरिलोजरा, शिलाजित, अल्लो, मजिठोको डाँठ र चिराइतो संकलनका लागि पुर्जी जारी भएको थियो ।

कोरोनाको जोखिमका कारण गत वर्ष यार्सा गुम्बा संकलन तथा छोडपुर्जी जारी भएन् । २६ हजार ३४२ केजी परिणामका जडिवुटी संकलनका लागि छोडपुर्जी जारी भएको सहायक वन अधिकृत नबिन विश्वकर्माले बताउनुभयो । संकलन पुर्जी जारी गरेवापत चार लाख सात हजार ८५० रुपैयाँ राजस्व समेत संकलन भएको छ । संकलन पुर्जी लगेका सबैले कोरोनाका कारणले निकासीका लागि छोडपुर्जी भने लिएका छैनन् ।

वन डिभिजन कार्यालयबाट जडीवुटी भण्डारण केन्द्र निर्माणका लागि अघिल्लो वर्षनै चार लाख ७५ हजार रुपैयाँ अनुदान पाएको मुग्लानी क्लोथ एण्ड ह्याडीक्राफ्ट कम्पनीले पनि अहिलेसम्म उद्देश्य अनुसारको काम गरेको छैन् ।

‘अनुदानमा व्यक्तिगत लगानी परेर राहुघाटमा भवन बनाएको छु,’ सञ्चालक खोजेन्द्र मल्लले भन्नुभयो ‘जडिवुटी र अल्लो संकलन गरेर बजारीकरणका लागि संकलकहरुसग समन्वय गर्दैछु ।’
म्याग्दीमा अनुदान लिने तर उद्देश्य अनुसारको काम नगर्ने समस्याले राज्यको लगानी खेर गएको छ । ब्यवसायिक कृषक र उद्यमीहरु अनुदानबाट बञ्चित छन् । सदरमुकाम वरपरका कागजपत्र मिलाउन जान्ने टाठाबाठाहरुले अनुदानमा हालीमुहाली गरेका छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...