धौलागिरि खबर

अग्नीखेतको बंगुर फार्ममा बाढी

बेनी, ः कोरोना (भाइरस)को महामारीले ब्यवसाय थला परेका म्याग्दीको बेनी नगरपालिका–७ अग्नीखेतका बंगुरपालक कृषकहरुलाई बाढी पहिरोले पिडा थपेको छ ।

बंगुरका लागि दाना अभावका साथै उत्पादन भएका पाठापाठी र बंगुर बिक्री नहुँदा समस्यामा परेका कृषकहरुको फार्ममा सोमबार राती बाढी पसेर क्षति पु¥याएको हो । ठाडो खोल्सामा आएको बाढी म्याग्दी नदीको किनारमा रहेका फार्मभित्र पसेको कृषक देवेन्द्रबहादुर विश्वकर्माले बताउनुभयो ।

विश्वकर्मा, म्याग्दी बंगुरपालन सहकारी संस्था र दिपेश बंगुर फार्ममा बाढी पसेको हो । दिपेश बंगुर फार्मको दुई वटा र विश्वकर्माको फार्मका तीन वटा खोर पुरिएको छ । दिपेश बंगुर फार्मका सञ्चालक दलबहादुर बुढाथोकीले एक वटा बंगुर बाढीले पुरिएको र छ वटालाई बाढीबाट निकालेर अन्यत्र सारेको बताउनुभयो ।

तीन वटा फार्ममा करिब तीन सयको हाराहारीमा बंगुर पालिएका छन् । ठाडो खोल्सामा बाढी आएपछि फार्मनै अन्यत्र सार्नुपर्ने देखिएको बुढाथोकीले बताउनुभयो । कोरोनाको जोखिमका कारण बजारका होटल तथा रेष्टुरेष्ट नुखल्दा बंगुर बिक्री हुन सकेको छैन् ।

बंगुरका पाठापाठीको पनि बिक्री घटेको छ । मासिक दश बिस वटा बंगुर बिक्री हुनेमा अहिले चार पाँच वटा मात्र बिक्री भएको कृषकहरुले बताएका छन् । बजारका होटल तथा रेष्टुरेष्ट बन्द भएका कारण बंगुरका लागि आहरा आपुर्तिमा समेत समस्या भएको छ ।

होटल तथा रेष्टुरेष्टमा धेरै भएर फालिएका खाना, तरकारी, दाल संकलन गरेर बंगुरलाइ दाना खुवाउने गरेका थिए । अहिले दाना किनेर खुवाउँदा लागत बढेको कृषक कृष्ण विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Loading...