धौलागिरि खबर

मराङका पहिरो पिडितका लागि बेलायतबाट दुई लाख बढी सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितहरुका लागि बेलायतबाट सोमबार दुई लाख छ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

हाल बेलायतको बेलफास्टमा रहनुभएका मराङका रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन गरेर दुई लाख छ हजार रुपैयाँ पठाउनुभएको थियो ।

बेलायतबाट सुबेदीले पठाउनुभएको रकम सोमबार वडा अध्यक्ष तथा पनुनिर्माण कोषका संयोजक राजाराम सुबेदी लगायतका पदाधीकारीहरुलाई हस्तान्तरण गरिएको समन्वय गर्नुभएका स्थानीय युवा इश्वर सुबेदीले जानकारी दिनुभयो ।

रेशमका दाजु खडानन्द सुबेदीले रकम हस्तान्तरण गर्नुभएको थियो । प्राप्त सहयोग पुननिर्माण कोषमा जम्मा गरेर पहिरोबाट घरबास गुमाएकाहरुको पुनस्थापनामा परिचालन गरिने वडा अध्यक्ष सुबेदीले बताउनुभयो ।

मराङका पहिरो पिडितहरुको पुनस्थापनाका लागि स्वदेश तथा बिदेशबाट सहयोग प्राप्त हुने क्रम जारी छ । असार २५ र २६ गतेको पहिरोका कारण मराङको राम्चे, रिख, कल्लेनी, कुम्रि र ठूलोगाउँमा १९ जनाको ज्यान जानुका साथै दुई जना बेपत्ता छन् । २५ भन्दा बढी घर पूर्ण क्षतिका साथै सँयौ घर पहिरोको जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस
Loading...