
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ मा पर्ने महभिर भिरकाटे स्थित कालीगण्डकीको बगरबाट अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् गर्नेलाई जरिवाना गरिएको छ ।
गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले अबैध उत्खनन्मा संलग्नलाई जरिवाना तिराउने र भण्डारण गरेर राखिएको बालुवा जफत गरि बढीबढाउमा बिक्री गर्ने निर्णय गरेको हो ।
बालुवा संकलन र भण्डारणको कार्यमा संलग्न निर्माण ब्यवसायी सागर बरुवाल र शर्मा युनाईटेड बिल्डर्सका सुपरभाइजर रमेश सुवेदीलाई एकमुष्ट पचास हजार रुपैया जरिवाना तिराउने निर्णय भएको हो ।
अबैध रुपमा उत्खनन् गरेर स्थानमा राखिएको ४८१.०१ घनमिटर बालुवालाई एक लाख १८ हजार ८२५ रुपैयाँ मूल्य कायम गरि सोमबार ७ दिने सूचना निकालेर दरभाउपत्र मार्फत बढी बढाउमा लिलाम बिक्री गर्ने निर्णय समेत कार्यपालिकाले गरेको छ ।


महभिर क्षेत्रमा अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन र निकासी भएपछि घारका स्थानीय युवाहरुले गाउँपालिकालाई ध्यानकर्षण गराउँदै लिखित उजुरी समेत गरेका थिए । सोही उजुरीको आधारमा गाउँपालिकाले स्थलगत अवलोकन देखि संलग्न व्यक्तिहरुको पहिचानको लागि छानविन अघि बढाएको थियो ।
स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदीजन्य वस्तुको उत्खनन् गरी बिक्री वितरण गर्न पाइने नीतिगत व्यवस्था गरेको छ । प्रदेश सरकारले असार १५ गतेदेखि तीन महिनासम्म बगर उत्खनन्मा रोक लगाएको छ । नीतिगत व्यवस्थाअनुसार बगर उत्खनन्मा एक्साभेटर (डोजर)को प्रयोग गर्नसमेत पाइँदैन ।
अन्नपूर्ण गाउँपालिकाले बगर ठेक्का लगाउनका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा छ । इआइए रिपोर्ट जिल्ला समन्वय समितिले पारित गरेपछि ठेक्का आव्हान गर्ने र प्रतिस्पर्धामा ठेक्का लगाएर उत्खनन् तथा निकासी गर्न लगाउने गाउँपालिकाको योजना छ । गत वर्ष तीन पटक सूचना प्रकाशन गर्दासमेत अन्नपूर्ण गाउँपालिकाका बगर उत्खननका लागि कसैले पनि ठेक्का हालेका थिएनन् ।
