धौलागिरि खबर

पुनहिलमा भूमिगत “भ्यु प्वाइन्ट”

बेनी । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ स्थित पर्यटकीय स्थल पुनहिलमा भूमिगत “भ्यू प्वाइन्ट’’ बनाइएको छ ।

समुन्द्रि सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाडाको डिलतर्फ बसेर दृष्य अवलोकन गर्न मिल्ने तीन वटा भूमिगत “भ्यू प्वाइन्ट” बनाइएको छ ।

पर्यटन मन्त्रालयबाट प्राप्त तीस लाख रुपैयाँ बजेटबाट उपभोक्ता समिति मार्फत करिब साठी जना क्षमताको भ्यू प्वाइन्ट बनाएको गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । जमिनको सतहसँग मिल्ने गरि बनाइएको भ्यू प्वाइन्टको कोठाभित्र बसेर हिमाल, सुर्योदय र पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ ।

Rara Auto Mobiels

‘झरि र हिउँ पर्दा सुरक्षित तरिकाले भ्यु हेर्ने ब्यवस्था मिलाउन अण्डरग्राउण्ड भ्यु प्वाइन्ट बनाएका हौ,’ अध्यक्ष पुनले भने ‘अण्डरग्राउण्ड भ्यु प्वाइन्टमा बस्दा बाहिरको तुलनामा न्यानो पनि हुन्छ ।’ भ्यू प्वाइन्टको कोठाको बाहिरी भागमा सिसा राखिएको छ ।

सरकारले १०० पर्यटकीय गन्तब्यको सूचिमा राखेको पुनहिल भ्रमणमा आउने पर्यटकको सुबिधाका लागि भूमिगत भ्यू प्वाइन्ट बनाइएको हो । भ्यू प्वाइन्टका लागि बनाइएको एउटा कोठामा चिया पसल सञ्चालन गर्ने योजना छ ।

अहिले पुनहिल टावर नजिकै टहरामा चिया पसल सञ्चालन भएको छ । चारैतिर गुरासे जंगलको बिचमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु, गुर्जा, पुथा, चुरेन लगायत २० वटा हिमाल, सुर्योदयको अवलोकन गर्न सकिन्छ ।

पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको मुख्य गन्तब्य हो । वन्यजन्तु, पंक्षि र १६ प्रजातिको लालीगुराँसको अवलोकन गर्न सकिन्छ । यसैगरी घोरेपानी देखि पुनहिल जाने पदमार्गलाई रातको समयमा पनि उज्यालो बनाउन सौर्य बत्ति जडान भएको छ ।

प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटले २३ थान सोलार बत्ति जडान गरिएको गाउपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताए । ‘घोरेपानी देखि पुनहिल जाने पदमार्गमा चौबिसै घण्टा उज्यालो हुने गरि स्वचालित सोलार बत्ति राखिएको छ,’ उनले भने ‘सुर्यको प्रकाशले चार्ज हुने सोलार बत्ति रातिको समयमा बल्ने बनाएका छौ ।’

घोरेपानीमा बास बसेका पर्यटकहरु एका बिहानै सुर्योदय अवलोकन गर्न पुनहिल जाने गर्छन् । यसअघि अध्यारोमा टर्च लाइट बालेर जाने गर्दथे । अब टर्च लाइट नचाहिने भएको छ । घोरेपानी देखि पुनहिल पुग्न करिब ४५ मिनेट उकालो हिड्नुपर्छ ।

यसअघि घोरेपानी होटल ब्यवस्थापन समितिले पुनहिलसम्म ढुङ्गाको सिढी सहितको पदमार्ग बनाएका थिए । घोरेपानी र पुनहिल भित्रने मुख्य नाकामा चार वटा प्रवेशद्धार बनाएका छन् ।

यसैगरी घोरेपानीको नजिकै रहेको अर्को पर्यटकीय स्थल मोहरेडाडामा सामुदायिक लज निर्माण भएको छ । पच्चिस लाख रुपैयाको लागतमा दुई तले भवन बनाएको अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए ।

तल्लो तलामा लज र माथिल्लो तलामा डाइनीङ हल बनाउने उनले बताए । समुन्द्रि सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित मोहरेडाडाबाट पनि हिमाल, सुर्याेदय, लालीगुरासको जंगल र पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...