धौलागिरि खबर

दरबन्दी मिलानलाई बैज्ञानिक र ब्यवहारिक बनाउन माग

बेनी । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति, म्याग्दीले शिक्षक दरबन्दीको उपयुक्त प्रक्षेपण बिना दरबन्दी मिलान नगर्न माग गरेको छ ।

शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले स्थानीय तहहरुलाई दरबन्दी मिलान गर्ने अख्तियारी दिएकोमा संगठनका अध्यक्ष होमनाथ पाण्डे र सचिब गोविन्द शर्माले शुक्रबार एक विज्ञप्ति जारी गरेर असहमति प्रकट गर्नुभएको हो ।

मन्त्रालयको अख्तियारीपछि म्याग्दीका स्थानीय तहहरुले दरबन्दि मिलानको तयारी गरेपछि शिक्षकहरुले असन्तुष्टि जनाउन थालेका छन् । संगठनद्धारा जारी विज्ञप्तिमा दरबन्दि मिलानका लागि ६ बुदे सुझाव प्रस्तुत गरेका छन् ।

कोरोनाको जोखिमका कारण स्थानीय तहमा समेत रिक्त राहत अनुदान कोटा र रिक्त दरबन्दी मात्र स्थानान्तरण गर्ने तथा खुल्ला निवेदन माग गरि शिक्षक स्वमलेनै स्वऐच्छिक रुपमा रोजेर स्थानान्तरण हुन पाउने ब्यवस्था मिलाउन माग गरेका छन् ।

यसैगरी हाल कायम बिद्यार्थी संरचनाको आधार मान्नुपर्ने, शिक्षक महासंघ र संगठनहरुको दरबन्दी मिलान प्रक्रियामा सहभागिता हुनुपर्ने, यसअघि मन्त्रालय तथा पेशागठन संगठनहरुबीच भएको सहमति सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

शिक्षक कर्मचारीको दरबन्दी मिलानलाई वैज्ञानिक र ब्यवहारिक बनाउनुपर्ने संगठनको धारणा छन् । यसैगरी नेपाल राहत शिक्षक जिल्ला समिति म्याग्दीले पनि दरबन्दी मिलानको विषयमा बिहीबार जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहका शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

राहत शिक्षक संघ म्याग्दीका अध्यक्ष देवराज शर्मा र सन्तोष सुबेदीको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा राहत शिक्षकहरुलाई दरबन्दीमै रुपान्तरण गरी अनुदान शिक्षकको रुपमा दरबन्दी मिलान प्रक्रियामा बिभेद गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । नियुक्ति मितिलाई आधार मानेर दरबन्दी मिलान गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Loading...