धौलागिरि खबर

पहिरोले फटालेको पात्लेखेत (स्थलगत भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेत गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बस्तिको तल रहेको बान्द्रे र पाखाखेत पहिरोका कारण पात्लेखेत जोखिममा परेको हो ।

राहुघाट नदीको किनारबाट सुरु भएको पहिरो दुई किलोमिटर माथि रहेको गाउँको नजिकै आइपुगेको छ । बस्ति नजिक पहिरो आएकाले जोखिम बढेको स्थानीय रामशरण रिजालले बताउनुभयो ।

“पाखाखेतमा वर्षमा १५–२० मुरी धान फल्ने खेत र पाइजागाउँको मुनी भएको बारी सबै पहिरोले बगायो,” उहाँले भन्नुभयो “खेतबारी तान्दै घरकै छेउमा पहिरो आइपुग्यो । कजाउने खेतबारी बाँकी राखेन् । बस्ने घर पनि छोड्नुपर्ने भयो ।”

ढुङ्गामुनी भन्ने ठाउँमा भएको रिजालका १३ दाजुभाइको बस्ति नजिक पहिरो पुगेको छ । पाखाखेतमा रहेको उनिहरुकै खेत र खरबारी पहिरोले बगाएको थियो । ओखरी टोलका टिका गिरीको ११ रोपनी खेतबारी मध्य पहिराले घर सहित अहिले करिब चार रोपनी मात्र बाँकी राखेको छ ।

घरको पाँच मिटर नजिक पहिरो छ । यसअघि बस्दै आएको ठाउँमा बान्द्रेके पहिरोले घर भत्काएपछि गिरि दश वर्षअघि ओखरी टोलमा घर बनाएर सर्नुभएको थियो । ओखरी टोलका धेरै घर कोल्टे परेका छन् । पर्खाल चिरा चिरा परेका छन् । “खेतबारी पहिरोमा बगिसक्यो, घर नजिकै आइपुग्यो,” इन्द्रबहादुर रावतले भन्नुभयो “अब कहाँ जाने ? के खाने ? पहिरोले उठिबास लगायो ।”

बान्द्रे र पाखाखेतको पहिरोले पात्लेखेतबासीलाई पिरोलेको छ । बर्षौदेखि बिस्तारै–बिस्तारै बगिरहेको पहिरोले गाउँनै जोखिममा पारेको छ । ५ घरपरिवारलाई बिस्थापित बनाएको पहिरोले थप ६५ घर जोखिममा परेको स्थानीय केदारनाथ शर्माले बताउनुभयो । पाखाखेत, ओखरी, ढुङ्गामुनी र पाइजागाउँको बस्ति उच्च जोखिममा छन् ।

पाखाखेतको पहिरोबाट विस्थापित हुनुभएका लालबहादुर हमालले केही माथि आफन्तको जग्गामा घर बनाएर बसेको बताउनुभयो । बान्द्रेको पहिरोबाट विस्थापित हरि गर्बुजाले पनि झिँ जाने सडकको छेउमा टहरा बनाएर बस्नुभएको छ ।

गर्बुजाकी ठूलीआमा खम्बी, यामबहादुर राम्जाली र सुकुम्बासी गोरे रोका बिस्थापित भएका छन् । “पहिले तल तल गएको पहिरो २०७२ को भूकम्प पछि सक्रिय भएर बस्ति नजिक आइपुग्यो,” शर्माले भन्नुभयो “बान्द्रेको पहिरोले मात्र चार हेक्टर सामुदायिक बन र पाँच सय रोपनी खेतियोग्य जमिन सखाप बनायो ।”

स्थानीयका अनुसार वि.स. २०१८ को भूकम्पपछि पात्लेखेत गाउँको पुछारमा रहेको रघुगंगा नदीको किनारबाट पहिरो जान थालेको थियो । कुनै बर्ष रोकिने त कुनै बर्ष बग्ने गरेको छ । भिरालो पाखो, कमजोर भूबनोट, भूमिगत पानीका कारण पात्लेखेतमा पहिरोको जोखिम भएको हो । तत्कालीन भूसंरक्षण कार्यालय, जिल्ला विकास समिति, पात्लेखेत गाविस र एलजिसीडिपी कार्यक्रम मार्फत संघीयता अघि पात्लेखेतको पहिरो नियन्त्रणको काम गरेका थिए ।

भूसंरक्षण कार्यालय मार्फत सञ्चालित आयोजनाबाट ग्यावीयन पर्खाल निर्माण र भल तर्काएपछि सबै भन्दा पुरानो पहिरो रोकिएको स्थानीयबासी बताउँछन् । ठूलो पहिरो रोकथाम गर्न थोरै बजेटको योजनाबाट सम्भव नभएको स्थानीयको भनाई छ ।

गण्डकी प्रदेशका सांसद बिनोद केसीको पहलमा गत वर्ष जलस्रोत तथा सिचाई डिभिजन कार्यालय मार्फत पाखाखेतको पहिरो रोकथामका लागि बिनियोजन भएको तीस लाख बजेटबाट २०७५ मा साढे दुई सय बढी ग्यावीयन जाली र भल तर्काउन नाली निर्माण भएको थियो ।

ग्यावीयन जालीको पर्खाल र नालीबाट भल तर्काएपछि पाखाखेतको पहिरो गत वर्ष र यो वर्ष केही मात्रामा रोकीएको स्थानीय कृष्ण मल्लले बताउनुभयो । वडा सदस्य बिष्णुबहादुर रकालले पहिरो रोकथामसँगै भूमिगत पानी र भलको ब्यवस्थापन प्रभावकारी देखिएकाले यस्ता योजनालाई निरन्तरता दिन पहल गरिएको बताउनुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७५ मा पात्लेखेतको पहिरो अध्ययनका लागि भूगर्भ बिद्को टोली पठाएको थियो । तनि दिनसम्म स्थलगत अध्ययन गरेका भुगर्भबिद्ले कृतिम हिसाबले पहिरो रोकथाम गर्न सम्भव नभएकाले जोखिमयुक्त ठाउँका बस्ति स्थानात्रण गर्न सुझाव दिएका थिए ।
“सबै ठाउँको पहिरो देखाउदा आफै रोकिए रोकिन्छ, नियन्त्रण गर्न सम्भव छैन भने,” पात्लेखेतका कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले भन्नुभयो “बस्ति स्थानान्तरण गर्नका लागि नगरपालिका मार्फत प्रदेश र संघीय सरकारसँग पहल गरेका छौ ।”

तत्काल १७ घरलाई स्थानान्तरण गर्नुपर्ने देखिन्छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७२ सालको भूकम्प अघिकै पहिरो भएकाले पात्लेखेतको बस्ति स्थानान्तरण गर्ने योजना सञ्चालन गर्न नसकिने बताएको छ ।

उनिहरुको जग्गा सबै पहिरोमा बगेको र अन्यत्र जग्गा नभएकाले जग्गाको ब्यवस्थापन सहित घर बनाउन आवश्यक देखिएको छ । जोखिमयुक्त बस्ति स्थानान्तरणका लागि जग्गा अधिग्रहण भएपनि गर्नुपर्ने विकल्पमा छलफल भएको कार्यवाहक वडा अध्यक्ष पुनले बताउनुभयो ।

गत हप्ता प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी लगायतको टोलीले पात्लेखेतको पहिरोको स्थलगत निरिक्षण गरेको थियो ।

त्यसअघि नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदी सहितको टोलीले पनि निरिक्षण गर्नुभएको थियो । गत महिनाको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले पात्लेखेतको बस्ति स्थानान्तरणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पुनःप्रस्ताव पठाउने निर्णय गरेको थियो ।

भिडियो कृष्णराज पौडेल हाम्रो म्याग्दी युटुयब च्यानल

प्रतिक्रिया दिनुहोस
Loading...