धौलागिरि खबर

कोरोना रोकथाममा रघुगंगाको साढे ७४ लाख खर्च

बेनी, । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि म्याग्दीको रघुगंगा गाउपालिकाले गत आर्थिक वर्ष २०७६÷७७ मा साढे ७४ लाख भन्दा बढी खर्च गरेको छ ।

२०७६ चैत देखि २०७७ असार महिनासम्म कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड १० लाख ६६ हजार २५ रुपैयाँ आम्दानी र ७४ लाख ६९ हजार १०२ रुपैयाँ खर्च भएको गाउपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार कोषमा गाउपालिकाका विभिन्न योजना तथा कार्यक्रमबाट रकमान्तर गरेर ७० लाख ५१ हजार ७५०, स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमबाट रकमान्तर भएर २७ लाख ९० हजार ४३ रुपैयाँ जम्मा भएको थियो ।

यसैगरी गण्डकी प्रदेश सरकारले पाँच लाख, गाउपालिकाका शिक्षकहरुले पाँच लाख ७२ हजार ४५६, कर्मचारीहरुबाट एक लाख ३६ हजार ७७६ र पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट पन्ध्र हजार रुपैयाँ जम्मा भएको थियो ।

सबैभन्दा बढी कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीमा रोजगारी गुमेका र विपन्न लाई खाद्यान्न राहत वितरणमा ४१ लाख छ हजार ४५६ रुपैयाँ खर्च भएको छ । ८ वटा वडाका दुई हजार ४२४ घरधुरीलाई ५८ हजार ८०० केजी चामल, ९७५ केजी दाल, ९०० लिटर तेल, एक हजार ३४४ केजी नुन वितरण भएको छ ।

खाद्यान्न ढुवानीमा दुई लाख ५७ हजार दुई सय, अन्य शिर्षकमा ४८ हजार ३०० रुपैयाँ खर्च भएको छ । थर्मल गन, मास्क तथा सेनिटाइजर र औषधी खरिदमा चार लाख ७९ हजार २०५, क्वारेन्टिन निर्माणमा एक लाख ५२ हजार ९३९, नागरिक सहायता कक्ष सञ्चालनमा दुई लाख ९३ हजार ५४०, जनचेतना तथा प्रचारप्रसारमा दुई लाख ७९ हजार ५४८ रुपैयाँ खर्च भएको छ ।
बेनी अस्पताललाई आइसोलेनशन निर्माणमा दुई लाख पचास हजार, राहत तथा अन्य ढुवानीमा साठी हजार ७५, आरडिटि तथा स्वाब परिक्षणका क्रममा खाजा खाना वापत २४ हजार रुपैयाँ खर्च भएको छ । कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रले ब्यवस्थापन गरेको क्वारेन्टिन आइसोलेशनमा चार लाख पचास हजार तीस रुपैयाँ खर्च भएको छ ।

यसैगरी वडा मार्फत लकडाउनको कार्यान्वयनमा परिचालन भएका स्वमसेवकको भत्तामा छ लाख पचास हजार ३१०, स्वम सेवक तथा सुरक्षाकर्मीको खाजा तथा विबिध तर्फ तीन लाख असी हजार ९५५ र औषधी खरिदमा तीन लाख ४२ हजार २४ रुपैयाँ खर्च भएको छ ।

भदौ ८ गतेको कार्यपालिका बैठकमा प्रस्तुत गत आर्थिक वर्षको आम्दानी खर्च विवरण अनुमोदन भएको थियो । गत वर्ष कोषमा ३५ लाख ९६ हजार ९२९ रुपैयाँ बचत भएको थियो । यो आर्थिक वर्षका लागि एक करोड रुपैयाँ बिनियोजन भएको छ ।
यसैगरी कोषबाट बेनी अस्पताललाई १३ लाख ९५ हजार १७ रुपैयाँ सहयोग गर्ने र डिसिसिएमसीले ब्यवस्थापन गरेको क्वारेन्टिनमा भएको एक लाख ८५ हजार ९५६ रुपैयाँ भुक्तानी गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...