धौलागिरि खबर

भिरकाटेमा कालीगण्डकीको अबैध उत्खनन र नदीजन्य बस्तुको चोरी निकासी

बेनी। म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ भिरकाटे स्थित कालीगण्डकी नदीको बगरबाट अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी भएको छ ।

गाउँपालिकासँग ठेक्का सम्झौता बिनै एक्साभेटर प्रयोग गरेर बालुवा निकालेर निकासी भएको हो । स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदी जन्य बस्तुको उत्खनन् गरि बिक्री वितरण गर्न पाइने नीतिगत ब्यवस्था छ ।

प्रदेश सरकारले असार १५ गतेदेखि तीन महिना सम्म बगर उत्खनन्मा रोक लगाएको छ । नीतिगत ब्यवस्था अनुसार बगर उत्खनन्मा एक्साभेटर (डोजर)को प्रयोग गर्न समेत पाइदैन् । भिरकाटेको बगरमा साँझ र रातीको समयमा एक्साभेटर परिचालन गरेर बालुवा निकालेर निकासी भैरहेको स्थानीयबासीले बताएका छन् ।

अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी हुँदा गाउँपालिकालाई आम्दानीको स्रोत गुमेको छ । नीतिगत ब्यवस्थाको उल्लङ्घन भएको छ । बेनी–जोमसोम सडकको छेउछाउमा भएको अबैध उत्खनन् नियन्त्रणका लागि सम्बद्ध पक्षले बेवास्ता गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।

बालुवा उत्खनन् भएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । बालुवा उत्खनन् भएको ठाउँमा बुधबार गाउपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदी र अन्नपूर्ण संरक्षण क्षेत्र ब्यवस्थापन समिति अन्तरगत गाउँ संरक्षण तथा ब्यवस्थापन समितिका पदाधीकारीहरुको टोलीले छुट्टाछुट्टै अनुगमन गरेको थियो ।

प्रशासकीय अधिकृत सुवेदीले अनुगमनमा जाँदा बालुवा निकालेर थुपारेको भेटिएको तर उत्खनन् गर्ने डोजर र ढुवानी गर्ने साधन नदेखिएको बताउनुभयो । अबैध रुपमा उत्खनन् र ढुवानीमा संलग्न ब्यक्तिलाई पक्राउ तथा साधनलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने र उत्खनन् भएका नदीजन्य बस्तु जफत गरि बढीबढाउमा बिक्री गर्ने कानुनी ब्यवस्था छ ।

अन्नपूर्ण गाउपालिकाले बगर ठेक्का लगाउनका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा छ । इआइए रिपोर्ट जिल्ला समन्वय समितिले पारित गरेपछि ठेक्का आव्हान गर्ने र प्रतिस्पर्धामा बढी कबोल गर्नेले राजस्व तिरेर उत्खनन् तथा निकासी गर्न पाउछन् ।
गत वर्ष तीन पटक सूचना प्रकाशन गर्दा समेत अन्नपूर्ण गाउपालिकाका बगर उत्खनन्का लागि कसैले पनि ठेक्का हालेका थिएनन् । ठेक्का नलाग्दा गाउपालिकालाई साठी लाख रुपैयाँ भन्दा बढी आम्दानी गुमेको छ । ठेक्का नलाग्दै उत्खनन् गरेपछि बगर रित्तिने भएकाले प्रतिस्पर्धामा भाग लिन ब्यवसायीहरुले बेवास्ता गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...