धौलागिरि खबर

कल्लेनीबासीलाई हिलापोखरीमा अस्थाई बसोबास

पहिरोका कारण बिस्थापित भएका धवलागिरी गाउपालिका–६ कल्लेनीका बासिन्दालाई हिलापोखरीमा अस्थाई बसोबासको ब्यवस्था मिलाइने भएको छ ।

गत असार २५ र २६ गतेको पहिरोका कारण कल्लेनी गाउँ जोखिममा परेपछि त्यहाँका २८ घरपरिवार विस्थापित भएका छन् । वडा न. ७ शिवाङको हेम माविको भवनमा बस्दै आएका कल्लेनीबासीहरुलाई हिलापोखरीमा अस्थाई बसोबासको ब्यवस्था मिलाउन पूर्वाधार तयार पारिएको छ ।

हिलापोखरीमा ३० वटा टेण्ट, चार वटा शौचालय र एक वटा खाना पकाउने तथा खाने टहरा तयार भएको हिलापोखरीको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिनुभयो । काठमाडौमा रहनुभएका म्याग्दीका धर्म सुवेदी, जोहन खड्का, चित्र केसी र शिव केसीले टेण्ट उपलब्ध गराउनुभएको हो । शौचालय बनाउन निर्माण सामग्री र दक्ष मिस्त्रीको ज्यालाका लागि आर्थिक सहयोग समेत गरिएको सहयोगदाता चित्र केसीले बताउनुभयो ।

Rara Auto Mobiels

“हामी चार जनाले सामाजिक भावनाले व्यक्तिगत हिसाबले नगद संकलन गरेर सहयोग गरेका हौ,” शिव केसीले भन्नुभयो “टेण्ट बाहेक बेड बिस्तारा, भाडाकुडा पनि उपलब्ध गराउने योजना छ ।” एउटै गाउँका विस्थापितलाई एकै ठाउँमा राख्दा सहज हुने भएकाले कल्लेनीका पहिरो पिडितको ब्यवस्थापनका लागि उहाहरुले १२ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । मनकामना केबलकार प्रा.लीले एक लाख सहयोग गरेको छ ।

शेरबहादुर मल्लले जग्गा उपलब्ध गराउनुभएको छ । रेशम पुनले उपलब्ध गराउनुभएको जग्गामा शौचालय बनाइएको छ । नजिकै रहेको मुहानबाट नियमित खानेपानीको ब्यवस्था मिलाइएको छ । हिलापोखरीको बुद्धशान्ति युवा क्लव, टोल सुधार समितिको नेतृत्वमा स्थानीयबासीले श्रमदान गरेर टेण्ट, टहरा, शौचालय बनाएका छन् ।

पहिरोबाट बिस्थापित कल्लेनीबासीहरु पनि श्रमदानमा सहभागि भएका थिए । सुरु गरेको सात दिनमै अस्थाई बसोबासका पुर्वाधार तयार पारिएको हो । दाताहरुसँग सहयोग जुटाउन समन्वय र पुर्वाधार निर्माणमा वुद्ध शान्ति युवा क्लवका पुर्व अध्यक्ष प्रेम पुनले अगुवाई गर्नुभएको थियो ।

पुर्वाधार तयार भएकाले कल्लेनीका पहिरो पिडित गाउँपालिका र वडा कार्यालय सँग समन्वय गरेर शिवाङबाट हिलापोखरी झर्ने तयारीमा छन् । कल्लेनीबासीले बस्न इच्छा देखाएको र जग्गा पनि पाइएकाले हिलापोखरीमा अस्थाई बसोबासको ब्यवस्था मिलाइएको हो । शिवाङबाट भन्दा हिलापोखरीबाट कल्लेनी नजिक पर्छ ।

पहिरोका कारण कल्लेनीमा दुई जनाको मृत्युका साथै एक जना वेपत्ता भएका थिए । गाउँमा खेतिबाली लगाउन र भित्र्याउन जान आउन पायक पर्ने भएकाले कल्लेनीबासीले अस्थाई बसोबासका लागि हिलापोखरीलाई रोजेका हुन् ।

शिवाङ देखि कल्लेनी पुग्न डेढ घण्टा हिड्नुपर्छ । हिलापोखरीबाट एक घण्टामा पुगिन्छ । चारैतिर घेरेको पहिरो घेरेको कल्लेनीमा खानेपानी आयोजनाको संरचना बताएको छ । पहिरो खस्ने क्रम रोकिएको छैन् । गाउँमा जाने र निस्कने नाकाको बाटो पहिरोले भत्काएको छ । जान आउन जोखिम मोल्नुपर्छ ।

एक सय रोपनी भन्दा बढी धानखेत, कोदोबारी र सुन्तला बगैचा पहिरोले बगर बनाएको छ । मगर समुदायको बाहूल्य बसोबास भएको कल्लेनी साविक मराङ गाविसको ३ नम्बर वडामा पर्छ । सडक, विद्युत सुबिधा पुगेको थियो ।

घरघरमा खानेपानी सुबिधा थियो । सुन्तला खेतिलाई विस्तार गरेर आयआर्जनको माध्यम बनाउन थालेका थिए । दिर्घकालिन बसोबासका लागि गाउँमै फर्कने अथवा अन्यत्र बसाईसराई गर्ने भन्नेमा कल्लेनीबासी अन्यौलमा छन् ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...