
गहते। म्याग्दीको मंगला गाउपालिका–५ गहतेमा रहेको जनकल्याण शिशू स्याहार आधारभूत विद्यालयलाई सोमबार अमेरिकाबाट चार लाख सत्तरी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
अमेरिकामा रहेका अर्मन जन्मभूमि भएकाहरुले अर्मन समाज अमेरिका मार्फत विद्यालयमा आधुनिक प्रबिधिको प्रयोग गरेर पठनपाठन सञ्चालनका लागि सो आर्थिक सहयोग गरेका हुन् । समाजले पठाएको रकम मंगला गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडा अध्यक्ष भुपेन्द्र केसीको उपस्थितिमा अमेरिकामा रहनुभएका नारायण रोकाका बुवा शेरबहादुर र गंगबहादुर रोकाकी श्रीमति पुष्पा बुढाथोकी रोकाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद बुढाथोकी र प्रअ मनबहादुर रोकालाई हस्तान्तरा गर्नुभयो ।
समाजले २१ जनाबाट चार लाख ५० हजार ९७१ रुपैयाँ संकलन गरेर पठाएकोमा हस्तान्तरणका अवसरमा गाउपालिकाका अध्यक्ष रोकाकी अमेरिकामा रहेका छोरीहरु रेखा र स्वस्तिको तर्फबाट दश÷दश हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यसैगरी गहते खानेपानी उपभोक्ता समूहको तर्फबाट अध्यक्ष धनप्रसाद रोका र सचिव जमुना घर्तिमगरले २० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

फ्युचर स्टार युवा क्लव गहतेका अध्यक्ष दिनेश घर्ति र सचिव मिथुन नेपालीले क्लवको तर्फबाट १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । नमुना आधारभूत विद्यालय अभियानका क्रममा यसअघि देउसीभैलो खेलेर एक लाख पचास हजार रुपैयाँ जुटाएको सो विद्यालयलाई गहतेको आमा समूहले ६५ हजार नगद र गाउपालिकाका अध्यक्ष सत प्रसाद रोकाको पहलमा उहाँका साथीले एक लाख २५ हजार रुपैयाँको शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो ।
गत आर्थिक वर्षको वडा अध्यक्षसँग शिक्षा कार्यक्रम अन्तरगत सो विद्यालयमा अध्ययन गर्ने सायना किसान, दिप्ति घर्तिमगर र शैलेश रोकालाई दुई हजार पाँच सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको थियो । प्राप्त रकमले विद्यालयका सबै विद्यार्थीका लागि ट्याब्लेट खरिद गरि इन्टरनेट जडान गर्ने र डिजिटिल माध्यमबाट पठनपाठन गराउन परिचालन गरिने विद्यालयका प्रअ मनबहादुर रोकाले बताउनुभयो ।

प्रबिधिको प्रयोग गरेर पठनपाठन सञ्चालन गरि नमूना आधारभूत विद्यालय बनाउन प्रारम्भिक योजना कार्यान्वयनका लागि समुदाय स्तरबाट आर्थिक सहयोग जुटाइएको हो । वि.स. २०५२ मा स्थापना भएको यस विद्यालयमा हाल बालशिक्षा सहित २३ जना विद्यार्थी छन् । दुई जना दरबन्दि, एक जना राहत, एक जना निजी स्रोत, एक जना विद्यालय कर्मचारी र एक जना बालशिक्षा सहयोगी कार्यकर्ता कार्यरत छन् ।

सो कार्यक्रममा गाउपालिकाका अध्यक्ष रोकाले अर्मन समाज युएसएले अर्मनबासीको दुख र सुखमा साथ दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । यसअघि गत असारमा कुरसिम्लामा बाढीले विद्युतको ट्रान्सफर्मर बगाएपछि अर्को ट्रान्सफर्मर ढुवानीका लागि पनि समाजबाट चार लाख पचास हजार रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।
वडा अध्यक्ष खत्रीले प्रबिधिको प्रयोग गरेर शिक्षाको गुणस्तर सुधार र सामुदायिक विद्यालयप्रति आकर्षण बढाउनुपर्ने बताउनुभयो । गाउपालिकाको शिक्षा शाखाका संयोजक डेकबहादुर बानियाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक बिधिको प्रयोग गरेर बिद्यार्थीको सिकाई क्रियाकलापलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर बुढाथोकीको अध्यक्षता, प्रअ मनबहादुर रोकाको सञ्चालन र शिक्षक दिनेश घर्तिमगरको स्वागत मन्तब्यमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

