धौलागिरि खबर

धवलागिरीका पहिरो पिडितका लागि एक लाख सत्तरी हजार सहयोग प्राप्त

बेनी, । म्याग्दीको धवलागिरी गाउपालिकाका पहिरो पिडितका लागि प्रवासीहरुबाट आइतबार एक लाख सत्तरी हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

विभिन्न व्यक्ति तथा परिवारले गाउपालिकाले पहिरो पिडितको पुनस्थापनाका लागि समुदाय स्तरबाट सहयोग जुटाउन सञ्चालन गरिएको अभियानका क्रममा सो सहयोग प्राप्त भएको गाउपालिकाले जनाएको छ ।

हाल बेलायतमा रहनुभएका गुर्जाका गोपाल छन्त्याल र मुदीका सरमान घर्तीको सक्रियतामा बेलायत (युके)मा संकलन भएको एक लाख दश हजार रुपैयाँ गाउँपालिकाको विपद् ब्यवस्थापन खातामा जम्मा भएको छ ।

Rara Auto Mobiels

खिवाङ घर भई हाल बेलायतमा रहनुभएका स्वर्गीय जितबहादुर पुनको स्मृतीमा उहाँकी श्रीमति र छोरीहरुको तर्फबाट पचास हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । २०७५ चैतमा नाउराको भिरबाट लडेर ज्यान गुमाउनुभएका बेलायती सेवानिवृत्त गोर्खा सैनिक जितबहादुर गाउँपालिकाका अध्यक्ष थमसरा पुनका सहोदर दाजु हुनु् ।

यसैगरी भिमा तुलाचन र उहाँका श्रीमान डाक्टर बोजिन्द्र तुलाचनको तर्फबाट पनि दश हजार रुपैयाँ प्राप्त भएको छ । गत असार २५ र २६ गतेको पहिरोका कारण धवलागिरी गाउँपालिका–६ मराङको बिभिन्न ठाउँमा १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए ।

पहिरोबाट मराङका साथै ताकम, काफलडाडा र धारापानीका बासिन्दा प्रभावित भएका छन् । पहिरोका कारण घरबास गुमाएकाहरुको पुनस्थापनाका लागि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको संयोजकत्वमा आर्थिक संकलन अभियान सञ्चालन भएको छ ।

अभियान मार्फत स्वदेश तथा बिदेशबाट सहयोग जुट्ने क्रम जारी छ । गाउपालिकाका अध्यक्ष पुनले सहयोगदाताहरुलाई धन्यवाद दिदै प्राप्त रकम पिडितहरुको पुनस्थापनामा परिचालन गरिने बताउनुभयो ।

यसैगरी म्याग्दी समाज न्युयोर्क अमेरिकाले पनि धवलागिरी, मालिका र मंगला गाउपालिकाका पहिरो पिडितहरुलाई राहत सहयोग उपलब्ध गराएको छ । याम पुन, भबिन्द्र सिउथानी लगायतको पहलमा संकलन गरेर पठाउनुभएको राहत रकम याम पुनका दाजु पुर्णले गाउपालिका तथा वडाका जनप्रतिनिधिहरुको रोहबरमा वितरण गर्नुभएको हो ।

आइतबार बिहान बिम र दिउँसो ताकममा म्याग्दी समाज न्युयोर्कले पठाएको राहत वितरण भएको थियो । बिममा पूर्ण घर क्षति भएका तीस परिवारलाई जनही पच्चिस हजार रुपैयाँका दरले सात लाख पचास हजार, घाइते एक जनालाई दश हजार र मृतक तीन परिवारलाई चालीस हजार रुपैयाँ वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

यसैगरी बिमका पहिरो पिडितहरुका लागि हाल सिंगापुर पुलिसमा कार्यरत बिमका सागर जुग्जालीको पहलमा एक लाख पच्चिस हजार र बिमको बोर्डिङमा केही समय अध्यापन गराउनुभएका नेपालीभाषी भुटानी सेरु राइले २६ हजार रुपैयाँ पठाउनुभएका वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो ।

Biruwa Simran beni baglung
प्रतिक्रिया दिनुहोस
Loading...