धौलागिरि खबर

हरियालीमा कालिज पालन

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा हरियाली समूहले मासुका लागि जंगली पंक्षी कालिजको ब्यवसायिक पालन सुरु गरेका छन् ।

बनकुखुरा पनि भनिने कालिजलाई ब्यवसायिक रुपमा पालन गर्ने हरियाली धौलागिरि क्षेत्रकै पहिलो हो । गत चैतमा काठमाडौको दक्षिणकालीमा रहेको एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले उत्पादन गरेको कालिजको चल्ला ल्याएर पाल्न थालिएको थियो ।

चल्ला हुर्किएपछि मासुका लागि बिक्री गर्न थालेको हरियाली प्रालिको एक ब्लकको फार्मका इञ्चार्ज भगवान खड्काले बताउनुभयो । ‘हाम्रो फार्ममा पालिएको “राउननेक” जातको कालिज घरमा पाल्नलाई सरकारले अनुमति दिएको छ,’ उहाले भन्नुभयो ‘५ महीनाका कालिज दुई किलोका भएका छन् । मासुका लागि कालिज बिक्री गर्ने तयारीमा रहेका छौ ।’

प्रति कालिज तीन हजार ५०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । फार्ममा करिब १ हजार कालिज छन् । ४५० भाले कालिज बिक्री गर्ने फार्मले जनाएको छ । भालेलाई मासुका लागि बिक्री गरिने र पोथीबाट अण्डा, ह्याचिङ गरि चल्ला उत्पादन गर्ने तयारी गरेको खड्काले बताउनुभयो ।

अण्डाबाट ह्याचिङ गरी २३ देखि २५ दिनमा चल्ला निस्कन्छन् । कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । कालिज सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ ।

सात हजार कालिज पालनका लागि फार्मले पाँच रोपनी जमिनमा खोर बनाएको छ । चल्लालाई खोरमा राखिएको छ । हुर्कीएका कालिज राख्न नेट राखिएको खुल्ला ठाउँमा प्राकृतिक हिसाबले बस्न मिल्ने खोर बनाइएको हरियालीका महाप्रबन्धक शेरबहादुर केसीले बताउनुभयो ।

परिक्षणका लागि पालिएको कालिज सफल भएपनि संख्या बढाउन थालिएको छ । कालिजको साथै स्थानीय जातका कुखुरा पनि पाल्न सुरु गरेको छ । पहिलो चरणमा ६०० वटा लोकल कुखुराका चल्ला ल्याएर पालिएको हो ।

यसअघि काठमाडौ र पोखरा लगायत विभिन्न सहरमा कालिजपालन भएको थियो । कालिज नेपालमा पाइने जंगली पक्षी हो । स्वादीलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको ब्यवसायिक पालन भएपछि मासुका लागि जंगलको कालिज चोरी शिकारी न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ, अन्तराष्ट्रिय कृषि वैज्ञानिक डाक्टर टिकाबहादुर कार्की, मदन थापा लगायतको अवधारणा अनुसार कृषकलाई समुहकृत गरि सिंगा र आगेबगरमा नयाँ मोडेलको कृषि फार्म सञ्चालन भएको छ ।

कम्पनीको अगुवाईमा स्थानीय ३६ जना जग्गाधनी कृषक सहित ५५ जनाको पाँच करोड लगानीमा स्थापना भएको हरियाली समुहले १५५ रोपनी जग्गालाई चक्लाबन्दी गरेको छ । कुखुरापालन, तरकारी खेति, माछापालन, बोयर जातको बाख्रा पालन, माहुरीपालन, ड्रागन फुड (सिउडी फल) र पुष्प खेति गरेको अध्यक्ष सुजाता श्रेष्ठले बताउनुभयो ।

फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनि शाखाले परियोजना धितोमा राखेर पाँच करोड रुपैयाँ सहुलियत ब्याजदरको कर्जा लगानी गरेको छ । फार्ममा हालसम्म १० करोड रुपैयाँ लगानी भएको छ ।

कृषकहरुलाई समूहकृत गरी जग्गा एकिकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यवसायिक कृषि तथा पशुपंक्षिपालन गर्ने कार्यलाई अघि बढाउन राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले हरियाली मोडेलको कृषि फार्मको परिकल्पना गर्नुभएको हो ।

कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखिएको यस अवधारणलाई “हरियाली मोडेल” नाम दिइएको छ ।

हालसम्म कुनै निकायबाट अनुदान नलिएको यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो । कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६÷६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...