धौलागिरि खबर

पर्यटक आगमन ३४ प्रतिशतले घट्यो

बेनी । गएको आर्थिक वर्ष २०७६÷७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ३४ प्रतिशतले घटेको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)का कारण आर्थिक वर्षको पछिल्लो चार महिना पर्यटक आगमन शून्य रह्यो । स्वदेशी र विदेशी दुवै किसिमका पर्यटक आगमनसँगै पर्यटन र होटल ब्यवसाय ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार ७६ साउन देखि २०७७ असार सम्म म्याग्दी घुम्ने पर्यटकको संख्या ५० हजार जना छ । प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन ३४ प्रतिशतले घटेको बताउनुभयो ।

‘आर्थिक वर्ष २०७४÷०७५ र ०७५÷७६ मा ७५ हजारको हाराहारीमा पर्यटक आएका थिए,’ उहाले भन्नुभयो ‘गएको वर्ष फागुन सम्म मात्र पर्यटक आएको देखिन्छ । त्यसपछि शुन्य छ ।’

आर्थिक वर्ष २०७५÷०७६ मा ७५ हजार १९१, २०७४÷७५ मा ७४ हजार ७३३, २०७३७४ मा ६९ हजार ८३७ जना बिदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । २०७२७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ४३ हजार ६३२ जना थियो ।

गत वर्ष म्याग्दी भित्रने पर्यटक ३० हजार र बाहिरिने २० हजार जना छन् । लकडाउन र अन्तराष्ट्रिय उडान तथा नाका बन्द भएकाले चैत, बैशाख, जेठ र असार महिनामा पर्यटक संख्या शून्य छ ।

कात्तिकमा सबैभन्दा बढी १३ हजार ११९ र असोजमा १०, ३७ जना पर्यटक आएका छन् । घोरेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङ स्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहीरीने पर्यटकको विस्तृत विवरण सहितको तथ्याङ्क राख्ने गरिएको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताउनुभयो ।

म्याग्दीमा आउने मध्य असी प्रतिशत भन्दा बढी पर्यटकको रोजाइमा घोरेपानी पुनहिल क्षेत्र पर्छ । धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रिय, धौलागिरी आईसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजार लगायत धार्मिक, प्राकृतिक र ऐतिहाँसिक स्थलहरुको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मन, कोरीया, चिन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउँछन् ।

बेनी, तातोपानी, घोरेपानी लगायत स्थलमा पर्यटकलाई लक्षित गरेर दुई सय बढी सुबिधा सम्पन्न होटल तथा लज छन् । कोरोनाले पर्यटन क्षेत्रलाई तहसनहस बनाएको भुरुङ्ग तातोपानीका होटल ब्यवसायी अमृतमान शेरचनले बताउनुभयो ।

“होटल र पर्यटन मजदुरको रोजगारी गुमेको छ । ब्यवसायीले बैंकको ऋण तिर्न समस्या भएको छ । कृषकले उत्पादन गरेका बस्तु बेच्न पाएका छैनन्,’ उहाले भन्नुभयो ‘धेरै क्षेत्रसँग जोडिएकाले होटल तथा पर्यटन ठप्प हुँदा मानिसहरुको आर्थिक र जनजिवनमा समेत प्रभाव पारेको छ ।’

प्रतिक्रिया दिनुहोस
Loading...