धौलागिरि खबर

मोना कोरीयाबाट पहिरो पिडितको पुनस्थापनाका लागि छ लाख सहयोग

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाले म्याग्दीका पहिरो पिडितहरुको पुनस्थापनाका लागि छ लाख रुपैयाँ सहयोग गरेका छन् ।

मोनाको अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीका विभिन्न ठाउँमा असार २५ गतेयता भएका पहिरो, बाढी र कटानबाट घरबास गुमाएकाहरुको पुर्नस्थापनाका लागि सञ्चालन गरेको अभियानमा दक्षिण कोरियाबाट सो रकम प्राप्त भएको हो ।

मोना दक्षिण कोरीयाका अध्यक्ष सुनेश केसीका दाजु दिनेश केसीले आइतबार बेनी स्थित मोनाको कार्यालयमा म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र सुबासकुमार श्रेष्ठको उपस्थितिमा मोनाका निवर्तमान अध्यक्ष चक्रबहादुर थापालाई रकम हस्तान्तरण गर्नुभयो ।

मोनाले हालसम्म साढे दुई करोड रुपैयाँको हाराहारीमा रकम संकलन गरेको जानकारी गराउदै निवर्तमान अध्यक्ष थापाले सो रकम पहिरो पिडितको पुनस्थापनामा परिचालन गरिने जानकारी दिनुभयो । सहयोग संकलन हुने क्रम जारी रहेको र स्थानीय तहसँग घरबास गुमाएकाहरुको तथ्याङ्क मागिएको थापाले बताउनुभयो ।

प्रवासी म्याग्देलीहरुले मोना मार्फत जिल्लाको विपद् ब्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा सहयोग भित्र्याउदै आएका छन् । गत जेठ यता म्याग्दीका विभिन्न ठाउँमा गएको बाढी पहिरोबाट ३१ जनाको मृत्यु र पाँच जना वेपत्ता भएका छन् ।

मराङ, बिम, ताकम, धारापानी, काफलडाडा, देविस्थान, अर्मन, फगाम, काभ्रे, तितर, महभिर, पात्लेखेत, कुइनेमंगले लगायतका ठाउँमा एक सय भन्दा बढी घर पहिरोबाट भत्किएका छन् । सयौ परिवार घरबास बिहिन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Loading...