धौलागिरि खबर

पहिरोको जोखिम बढेपछि फगामका १२ परिवारलाई सारियो

बेनी, ः पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ फगामका १२ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

भिरालो पाखोमा अवस्थित फगाममा जमिन चिरा परेर घर भत्किन थालेपछि जोखिममा परेकालाई गाउपालिकाले सुरक्षित ठाउँमा सारेको हो । ३८ परिवारको बसोबास भएको फगाममा २३ घर पहिरोको उच्च जोखिममा छन् ।

पहिलो चरणमा १२ परिवारलाई सारिएको गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो । “१२ परिवारलाई गाउँ नजिकै पाखोमा टहरा बनाएर राखिएको छ,” उहाँले भन्नुभयो “अरुलाई पनि ठाउँ खोजेर टहरा बनाई सार्ने क्रममा छौ । राती घरमा कोही पनि बस्दैनन् ।” टहरा बनाउन गाउपालिका र नेपाल रेडक्रस सोसाइटीले त्रिपाल उपलब्ध गराएका छन् ।

Rara Auto Mobiels

हिराबहादुर पुन, जमुना खत्री, लालमति थापा, जितबहादुर राम्जाली, दिर्घबहादुर थापा, दुर्गाप्रसाद थापा, मंगली पुर्जा, देउमाया मिजार, कर्णबहादुर नेपाली, छकबहादुर गर्बुजा, नरबहादुर थापा, राममाया राम्जाली, हमाया राम्जाली, भूमिका मिजार, तेजबहादुर पाइजा पुन, तिलमाना थापा, गोमा केसी, लक्ष्मी गर्बुजा, नरमान थापा, सन्तु बरुवाल, नन्दबहादुर कटुवाल, ओमप्रसाद थापा र लालबहादुर गर्बुजाको घरमा पहिरोले क्षति पु¥याएको गाउपालिकाले जनाएको छ ।

फगामको सबै बस्तिनै सार्नका लागि सुरक्षित ठाउँमा जग्गाको खोजी सुरु गरेको अध्यक्ष पुनले बताउनुभयो । पहिरोको जोखिम बढेपछि स्थानीयबासीले घरका सामान र गाइभैसी पनि सारेका छन् । दिउँसो खेतबारीको कामका लागि मात्र घर जाने गर्छन् ।

फगामको सेतिबराही बाल शिक्षाको तीन कोठे भवन पनि भत्किएको छ । जमिन लच्किएर घर कोल्टे पर्ने, पर्खाल चिरा चिरा पर्ने र भत्किने गरेको स्थानीय दुर्गादत्त सुबेदीले बताउनुभयो । कमजोर भूबनोट भएको भिरालो पाखोमा अवस्थित फगामको तल बेनी–जोमसोम सडक निर्माणाधिन छ ।

दाना–खुर्कोट २२० केभी प्रशारण लाइन आयोजनाले टावर बनाउन जलथले देखि फगाम हुदै दुवाडीखोलासम्म पाँच किलोमिटर सडक निर्माण गरेको थियो । गाउँको बिच र तलतिर खनिएको सडकका कारण धेरै वर्ष अघि थामिएको पहिरो अहिले सक्रिय भएको स्थानीयबासीको भनाई छ । सो ठाउँमा यसअघि पनि पहिरो गएको थियो ।

अन्नपूर्ण–३ मा पर्ने रुप्से खोलामा आएको बाढीले गत साउनमा रुप्से झरना परिसरमा सुवर्ण खत्रीले सञ्चालन गरेको वाटरगड होटल बगाएको थियो । कालीगण्डकीले कटान गरेर तितरका रमेश बुढाथोकीको घर र जितबहादुर पुर्जाको ब्लक उद्योग बगाएको छ ।

काभ्रेका बलबहादुर पुर्जालाई भजेनी खोलाले बगाएर बेपत्ता बनाएको छ । पहिरोमा पुरिएर काभ्रेकै झलक पुनको मृत्यु भएको थियो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...