धौलागिरि खबर

हुलाकेमा नरबहादुरको रहरलाग्दो बोयर पालन

बेनी । बेनी नगरपालिका–१ अर्जमका नरबहादुर थापा (निशान)ले ब्यवसायिक रुपमा उन्नत बोयर जातको बाख्रापालन गर्नुभएको छ ।

वैदेशिक रोजगारको विकल्पमा चार वर्ष अघि हुलाकेमा निशान बोयर बाख्रा फार्म स्थापना गर्नुभएका थापा बाख्रा र बोकाको माग बढेपछि उत्साहीत बन्नुभएको छ । तनहुँ र धार्केबाट ल्याएका बोयर जातका पाँच वटा माउ र एक वटा बोका बाट थापाले स्थानीय खरि जातका बाख्रालाई क्रस बनाउनुभएको छ ।

छिटो बढ्ने र धेरै तौल हुने बोयर बाख्रापालनप्रति कृषकको आकर्षणसँगै बोका र पाठापाठीको माग बढेको थापाले बताउनुभयो । शान्त स्वभावका हुने भएकाले बोयर बाख्रा पाल्न सजिलो मानिन्छ । करिब दश लाख रुपैयाँ लगानीमा स्थापना भएको फार्ममा हाल ३५ वटा बाख्रा र बोका छन् । फार्ममा माउ बाख्राको संख्या बढाएर ५० वटा पु¥याउने थापाको योजना छ ।

Rara Auto Mobiels

पाँच महिना पालेका बोयर क्रस बोका र बाख्रालाई बीस हजार रुपैयाँ भन्दा बढी मूल्य पार्न सकिने थापाले बताउनुभयो । गत वर्ष करिब बीस वटा बोका र बाख्रा बिक्री गर्नुभएको थियो । बाख्रा र बोका बेचेर वार्षिक पाँच लाख आम्दानी हुने थापाले बताउनुभयो ।

सामाजिक सञ्जाल र मोवाइल सम्पर्क मार्फत बाख्रा र बोकाको माग आउने गरेको छ । बाख्रा पालनका लागि थापाले आधुनिक किसिमको खोर बनाउनुभएको छ । उमेर अनुसारका बाख्रा राख्न खोर भित्र छ वटा कोठा बनाउनुभएको छ । दाजुको २० रोपनी जग्गामा बहुबर्षे तथा डालेघाँस खेति गर्नुभएको छ ।

थापाको फार्मलाई खसीबाख्रा र बोका संकलन केन्द्रको रुपमा विकास गराउन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चार लाख रुपैयाँ अनुदान दिएको थियो । कृषकहरुले उत्पादन गरेका खसी, बोका संकलन गरेर फार्ममा ल्याउने र माग अनुसार बजार तथा कृषकहरुकहाँ पु¥याउने तयारी गरेको थापाले बताउनुभयो ।

थापालाई श्रीमति मनबुजाले बाख्रापालनमा साथ दिनुभएको छ । ४२ वर्षीय थापा म्याग्दीमा जनयुद्ध सुरुवात हुँदा तत्कालीन नेकपा माओवादीमा आवद्ध भएर केही समय भूमिगत राजनीति गर्नुभएको थियो ।

नेता हितमान शाक्यको सचिवालय, मगरात मुक्तिमोर्चा र जनमुक्ति सेनामा काम गर्नुभएका थापाले दन्द्धकालमै प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गर्नुभएको थियो । अध्ययनकै क्रममा काठमाडौमा साइबर ब्यवसाय गर्नुभएका थापा रोजगारका लागि शान्ति प्रक्रिया सुरु भएपछि पाँच वर्ष इराकमा काम गर्नुभयो ।

इराकबाट फर्किएपछि घरमै बाख्रापालन गर्ने क्रममा प्राबिधिक ज्ञानको अभाव भयो । त्यसपछि उहाँले मुस्ताङको लेते स्थित धवलागिरी प्राबिधिक शिक्षालयमा १८ महिना पशु स्वास्थ्य प्राबिधिक विषयमा अध्ययन गर्नुभयो । प्राबिधिक ज्ञान हासिल गरेपछि ब्यवसायिक रुपमा ब्यवस्थित हिसाबले बाख्रापालन सुरु गर्नुभएको हो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...