धौलागिरि खबर

जलजलामा कोरोना रोकथाममा ६१ लाख बढी खर्च

बेनी । पर्वतको जलजला गाउपालिकाले कोरोना (भाइरस) रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गरेर आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । प्रशासकीय अधिकृत शर्माका अनुसार कोरोना रोकथाम, नियन्त्रण तथा राहत वितरणका लागि प्रकोप ब्यवस्थापन कोषमा गाउपालिका, प्रदेश सरकार, अन्य निकाय तथा व्यक्तिबाट ५७ लाख २४ हजार २२२ रुपैयाँ बिनियोजन भएको थियो ।

गाउपालिकाले बजेट बिनियोजन गरेर सञ्चालन हुने पूर्वाधार आयोजनाबाट कन्टिन्जेन्सी (आयोजना ब्यवस्थापन खर्च)बाट सात लाख ७३ हजार १८७ रुपैयाँ गरि कुल ६४ लाख ९७ हजार ४०९ रुपैयाँ कोषमा आम्दानी भएको थियो ।

विभिन्न ८ वटा शिर्षकमा ६१ लाख २९ हजार ३३४ रुपैयाँ खर्च भएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । सबैभन्दा बढी विपन्न बर्ग राहत वितरणका लागि खाद्यान्न खरिद गर्न २३ लाख ३० हजार २११ रुपैयाँ खर्च भएको छ ।

औषधी तथा स्वास्थ्य सामग्री खरिदमा १० लाख २४ हजार २००, गाडी भाडा तथा मर्मतमा तीन लाख ८० हजार ८५६, कुश्मामा अस्थाई कोरोना अस्पताल निर्माणमा पाँच लाख ९१ हजार ११३ रुपैयाँ खर्च भएको छ ।

स्वदेश तथा बिदेशबाट आएकाहरुलाई कुश्माको क्वारेन्टिनमा राख्दा सात लाख ५१ हजार, ९९३, कटुवाल र स्वयमसेवक परिचालनमा एक लाख ९९ हजार ४६१, सूचना प्रसारमा असी हजार र गाउपालिकामा क्वारेन्टिन निर्माण, सञ्चालन तथा ब्यवस्थापनमा सात लाख ८१ ह्जार ५०० रुपैयाँ खर्च भएको छ ।

यसका अतिरिक्त गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को पहलमा हिमाली बालकल्याण संस्था मञ्च ललितपुर मार्फत २९ लाख ५९ हजार २०० रुपैयाँ मूल्य बराबरको खाद्यान्न २, ४, ५ र ७ नम्बर वडामा वितरण भएको छ ।

२१ लख १२ हजार रुपैयाँ मूल्यको ३२ हजार २०० केजी मसिनो चामल, चार लाख १६ हजार रुपैयाँको तीन हजार २०० केजी दाल, तीन लाख ९६ हजार मूल्यको दुई हजार ४०० लिटर खानेतेल र ३५ हजार २०० रुपैयाँको एक हजार ६०० केजी नुन वितरण गरिएको गाउपालिकाद्धारा जारि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Loading...