धौलागिरि खबर

म्याग्दीमा विद्युत समस्या समाधानका लागि प्राधिकरणको कार्ययोजना

बेनी । नेपाल विद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले अनियमित विद्युत आपुर्तिको समस्या समाधानका लागि अल्पकालीन र दिर्घकालिन कार्ययोजना अघि सारेको छ ।

मिलनचोक सबस्टेशनका उपकरण मर्मतका साथै प्रशारण र वितरण लाइन सुधारको काम गरिरहेको केन्द्रले छिट्टै बेनी बजार क्षेत्रका लागि नयाँ फिडर बनाएर विद्युत आपुर्तिको ब्यवस्था मिलाउन लागेको जनाएको छ ।

दिर्घकालीन समाधानका लागि दरवाङको रातोढुङ्गामा निर्माणाधिन ३३÷११ केभी क्षमताको सबस्टेशनलाई पुर्णता दिने, खुर्कोट देखि म्याग्दी र बागलुङका लागि फरक फरक मुख्य लाइन बनाउने, २२० केभी क्षमताको दाना सबस्टेशनमा २२०÷३३ केभीको ट्रान्सफर्मर राखेर अन्नपूर्ण गाउपालिकामा विद्युत आपुर्ति गराउने प्रस्ताब गरेको छ ।

बर्षौदेखिको समस्या समाधानका लागि केन्द्रले अघि सारेका प्रस्ताव कार्यान्वयन गर्न मन्त्रालय तहसम्म जनप्रतिनिधि मार्फत राजनीतिक लबिङ र समुदाय स्तरमा काम गर्ने वातावरणको अपेक्षा राखेको छ ।

बेनीमा बुधबार संघ, प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, प्रशासन र निजी क्षेत्र लगायत सरोकारवालाको उपस्थितिमा भएको छलफलमा नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रका प्रमुख माधब महतले विद्युत आपुर्तिमा देखिएको समस्याको कारण र समाधानका लागि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार विद्युत लाइन विस्तार अनुसार सबस्टेशन नथपिनु, पुरानै पूर्वाधार, उपकरण, लामो दुरिको वितरण लाइन, दरबन्दि अनुसार कर्मचारीको अभाव, भौगोलिक बिकटताका कारण नियमित विद्युत आपुर्ति हुन नसकेको हो ।

म्याग्दीमा विद्युत आपुर्ति गराउने मिलनचोक सबस्टेशन । तस्बिर धौलागिरि खबर

‘११ केभी वितरण लाइनको दुरि मापदण्ड भन्दा तेब्बर बढी भएकाले कुनै एक ठाउँमा समस्या आउँदा सबै ठाउँमा विद्युत आपुर्ति बन्द हुन्छ,’ महतले भन्नुभयो ‘भौगोलिक विकटता र दरबन्दि अनुसारका प्राबिधिक जनशक्ति नहुँदा समस्या पहिचान गरि मर्मतमा ढिलाई भएको हो ।’
मोदी सबस्टेशनबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि मिलनचोक सम्म ३३ केभी र मिलनचोक देखि रत्नेचौर, बेनी र घराप गरि तीन वटा ११ केभीको लाइन छन् । पर्वतको मल्लाज सहित म्याग्दीमा करिब १७ हजार उपभोक्ता छन् ।

म्याग्दीमा विद्युत आपुर्ति गर्ने मिलनचोक सबस्टेशनका अनुसार गत साउन महिनामा बागलुङबाट १३२ पटकमा ४५ घण्टा ५१ मिनेट, बेनी फिडरमा ८९ पटकमा ७९ घण्टा ११ मिनेट, दाना फिडरबाट ७३ पटकमा ११६ घण्टा १९ मिनेट र रत्नेचौर फिडरबाट ४१ पटकमा ७८ घण्टा १ मिनेट विद्युत आपुर्ति बन्द भएको छ ।

यो बर्खायाममा धेरै ठाउँमा पहिरोले पोल ढलाउने, रुख ढलेर तार चुडिने लगायतका कारणले बिद्युत आपुर्तिमा धेरै अवरोध सिर्जना भएको छ । विद्युत आपुर्ति नियमित नहुदा घरायसी काम देखि सार्वजनिक सेवा प्रवाह र उद्योग ब्यवसायमा असर परेको भन्दै उद्योग वाणिज्य संघ लगायत संघ संस्था र संगठनहरुले समाधानका लागि ज्ञापनपत्र बुझाएर दवाव दिएका छन् ।

विद्युत समस्या समाधानका लागि सामाजिक विकास मन्त्री नरदेवी पुनले प्राधिकरणका प्रदेश प्रमुखलाई मन्त्रालयमा बोलाएर केही दिन अघि छलफल गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगलाई फोन गरेर छलफल गर्नुभएको थियो ।

पहिरो र कटानका कारण क्षति पुगेका लाइन मर्मत तथा दायाँ बायाँका रुखका हागा काट्ने काम अन्तिम चरणमा पुगेको छ । मिलनचोक सबस्टेशनका केही उपकरण मर्मत र परिवर्तन गरिएको छ । ग्रामिण क्षेत्रका लाइनमा सेक्सन डिसकनेक्टिभ उपकरण राखिएको छ ।

मिलनचोक देखि बेनी, जलजलाको बगरफाँट र डम्मरा सम्मका लागि करिब साढे चार किलोमिटर दुरिको छुट्टै लाइन र अन्य संरचना बनाउन भदौ १ गतेनै टेण्डर आव्हान भएको छ । प्राधिकरणका प्रदेश प्रमुख बेदनाथ तिवारीले छुट्टै फिडर बनाउन मिलनचोक सबस्टेशनमा आवश्यक पर्ने ११ केभीको ब्रेकर र प्यानलको ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बेनी र आसपासका क्षेत्रमा छुट्टै फिडर भएपछि ग्रामिण क्षेत्रमा समस्या आउँदा अबरोध नहुने र नियमित विद्युत आपुर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । मालिका गाउपालिका–६ रातोढुङ्गामा निर्माणाधिन ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशनलाई छिटो पूर्णता दिन राजनीतिक तहबाट दबाव र स्थानीय स्तरमा काम गर्ने वातावरण बनाउनु आवश्यक देखिएको छ ।

ए टु जेड इञ्जिनियरिङले करिब आठ करोड रुपैयाँमा ठेक्का लिएको सबस्टेशनमा लकडाउन भएयता काम भएको छैन् । लक्ष्य अनुसार सन २०१८ को डिसेम्बरमै मिलनचोक देखि रातोढुङ्गासम्म २५ किलोमिटर प्रशारण लाइन र सबस्टेशन बनिसक्नुपर्ने हो । सबस्टेशन निर्माणका लागि छनौट भएको जग्गा अधिग्रहण तथा प्रशारण लाइनको पोल रहने जग्गाको समस्याले ढिलाई भएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।
‘‘पोल गाड्ने र सबस्टेशनका दुई मध्य एक वटा भवन बनिसकेको छ । उपकरण खरिद भैसकेको छ,’’ उहाले भन्नुभयो ‘‘लकडाउन नभएको भए रातोढुङ्गा सबस्टेशन करिब सकिन्थ्यो । घर गएका मजदुरलाई काममा फर्काउन पहल गरिएको छ ।’’
धौलागिरी, मालीका र मंगला गाउँपालीकामा रातोढुङगामा सबस्टेशनबाट बिद्युत बितरण गर्ने प्राधिकरणको योजना छ । २० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड छ । ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन समस्या भएको हो ।
दानामा निर्माणाधिन २२० केभी क्षमताको सबस्टेशनमा अर्को ३३÷११ केभीको ट्रान्सफर्मर राखेर अन्नपूर्ण गाउपालिकामा बिद्युत वितरण गर्न प्रस्ताब गरिएको छ । हाल मिलनचोक घराप हुदै थापाखोला सम्मको प्रशारण लाइन दाना सबस्टेशन र नया प्रशारण लाइन बनेपछि छुट्टिन्छ । मिलनचोकबाट छुट्टिने लाइनलाई दानामा जोडेर बिद्युत आपुर्ति र बितरण गर्न सकिन्छ ।

खुर्कोट सबस्टेशनमा २२०÷३३ केभीको टान्सफर्मर राखेर बागलुंग, पर्वत, म्याग्दीलाई फरक लाइन बनाउन पनि प्रस्ताब गरिएको प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Loading...