धौलागिरि खबर

कोरोना फैलिन नदिन कार्ययोजना

बेनी । म्याग्दीमा समुदाय स्तरमा कोरोना (भाइरस) भित्रन नदिन सरोकारवालाहरुले कार्यायोजना तयार पारेका छन् ।

कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बिहीबार बेनीमा भएको बिस्तारित बैठकले प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य कार्यालय, बेनी अस्पताल, निजी क्षेत्र बीच सहकार्य गरेर कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमकाकान्त अधिकारीले कोरोना फैलिन नदिन आन्तरिक आवत जावतलाई ब्यवस्थित गर्ने, जोखिमयुक्त जिल्लाबाट आउनेलाई क्वारेन्टिनमा राख्ने, क्वारेन्टिन, आइसोलेशन थप गर्ने, पालिका स्तरमा प्रि आइसोलेशन बनाउने प्रस्ताव गर्नुभएको थियो ।

यसैगरी प्रहरी नायब उपरिक्षक किरनजंग कुँवरले मन्त्रिपरिषद् बैठकबाट कोरोना रोकथामका लागि पारित सुरक्षा मापदण्ड र कार्ययोजनाको विषयमा जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी, जिसस प्रमुख देवेन्द्र केसी, छ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत, सुरक्षा अधिकारी, स्वास्थ्य कार्यालय, बेनी अस्पताल, गैसस महासंघ, रेडक्रस र उद्योग वाणिज्य संघका प्रतिनिधि बैठकमा सहभागिता थियो ।

बैठकमा पहिरोजन्य विपद्को तथ्याङ्कलाई एकरुपता दिने, स्थानान्तरण गर्नुपर्ने जोखिमयुक्त बस्ति, विद्युत आपूर्ति अनियमित हुने समस्या र कोरोना रोकथामका लागि भएका खर्च सार्वजनिक गर्ने विषयमा समेत छलफल भएको थियो ।

यसअघि बिदेशबाट आएकालाई राख्न बनाइएको क्वारेन्टिनमा देशकै जोखिमयुक्त ठाउँबाट आएका र शंका लागेर स्वाद दिएकाहरुलाई समेत राख्ने योजना अनुसार क्वारेन्टिन थप गरिने भएको छ । कार्ययोजना अनुसार सबै स्थानीय तहहरुले कम्तीमा ५० बेड क्षमताको क्वारेन्टिन व्यवस्थापन र सञ्चालन गर्न लागिएको छ ।

यसैगरी समुदायमा संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यजनर गरी प्रत्येक स्थानीय तहले कम्तिमा १५ वेड क्षमताको प्रि–आइसोलेशन वार्डको ब्यवस्थापन गर्ने निर्णय भएको छ । बेनी सामुदायिक माविको भवनलाई ८० बेडको आइसोलेशन कक्षका रुपमा विकास गर्ने र तोकिएको मापदण्ड अनुसार आइसोलेशन बनाउन प्रक्रिया सुरु गर्न बेनी अस्पताललाई जिम्मेवारी दिएको छ ।

म्याग्दीलाई कोरोनाबाट सुरक्षित बनाउन अन्तरजिल्ला आवत जावत गरिएको कडाईलाई निरन्तरता दिएको छ । अत्यावश्यक सामान ल्याएर बेनी बजारका लागि आउने ढुवानीका साधन कालीपुल प्रवेश गर्दा १ जना सवारी चालक मात्र प्रवेश गर्न दिने, ढुवानीका साधनलाई डिसइन्फेक्सन गर्न थालिएको छ ।

विद्यालय तथा कार्यालयहरुलाई शिक्षक कर्मचारीको अन्तरजिल्ला आवत जावत निरुत्साहित गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ । परिचय खुल्ने कागजात ल्याएर आउने पर्वतको जलजला गाउपालिका बाहेकका नागरिकका लागि कालीपुलमा होल्डीङ सेन्टर बनाइएको छ । कोरोनाको जोखिम बढेकाले कोरोना रोकथामका लागि संघ, प्रदेश, जिल्ला र पालिका स्तरबाट भएका पहललाई प्रभावकारी बनाउन प्रशासनले अग्रसरता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...