धौलागिरि खबर

म्याग्दीमा क्वारेन्टिन र आइसोलेशन थपिदै

बेनी, । समुदाय स्तरमा कोरोना भाइरस फैलिने जोखिम बढेसँगै म्याग्दीमा क्वारेन्टिनको संख्या थप्ने र स्थानीय तहमै प्रि–आइसोलेशन बनाउने तयारी भएको छ ।

यसअघि बिदेशबाट आएकालाई राख्न बनाइएको क्वारेन्टिनमा देशकै जोखिमयुक्त ठाउँबाट आएका र शंका लागेर स्वाद दिएकाहरुलाई समेत राख्ने योजना अनुसार क्वारेन्टिन थप्ने तयारी भएको हो ।

कोडिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) म्याग्दीको बुधबार बसेको बैठकले सबै स्थानीय तहहरुले कम्तीमा ५० बेड क्षमताको क्वारेन्टिन व्यवस्थापन र सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी समुदायमा संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यजनर गरी प्रत्येक स्थानीय तहले कम्तिमा १५ वेड क्षमताको प्रि–आइसोलेशन वार्डको ब्यवस्थापन गर्ने निर्णय समेत भएको छ ।

डिसिसिएमसीका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अहिलेसम्म समुदाय स्तरमा कोरोना नफैलिएको म्याग्दीलाई सुरक्षित बनाईराख्न क्वारेन्टिन थप र प्रि–आइसोलेशनको ब्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

“देश भित्रका उच्च संक्रमितहरु रहेका स्थानहरुबाट आउने नागरिकलाई राख्नका लागि सबै पालिकामा क्वारेन्टिन बनाउनुपर्ने देखियो,” उहाँले भन्नुभयो “ग्रामिण क्षेत्रमा पनि स्वाबको नमुना संकलन भइरहेको छ । यदि गाउँबाट संकलित स्वाब नमुनाको रिपोर्ट पोजेटिभ आइहाल्यो भने तिनलाई बेनीको आइसोलेशनमा नल्याउँदासम्म राख्नका लागि प्रि–आइसोलेशनको आवश्यकता परेको हो ।”

हाल सदरमुकाम बेनीको म्याग्दी बहुमुखी क्याम्पस, माउन्ट एभरेष्ट आवासीय माविको भवनमा २५० बेड क्षमताको क्वारेन्टिन चलाइएको छ । न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनको क्वारेन्टिन गत महिनादेखि हटाइएको छ ।

थप आवश्यक पर्न सक्ने आइसोलेशन ब्यवस्थापनका लागि बेनी सामुदायिक माध्यमिक विद्यालय नजिक रहेको सामुदायिक प्रहरीलाई साबिकको महिला तथा बालबालिका कार्यालयको भवनमा स्थानान्तरण गरिने भएको छ । बेनी सामुदायिक माविको भवनलाई आइसोलेशन कक्षका रुपमा विकास गर्ने र तोकिएको मापदण्ड अनुसार आइसोलेशन बनाउन प्रक्रिया सुरु गर्न बेनी अस्पताललाई जिम्मेवारी दिएको छ ।

हाल बेनीको खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रको भवनमा २० बेड क्षमताको आइसोलेशन सञ्चालन गरिएको छ । बेनी अस्पतालमा तीन वटा भेन्टिलेटर सहितको पाँच शैया क्षमताको सघन उपचार कक्ष (आइसीयु) सञ्चालनको तयारी भएको छ ।

यसअघि अन्नपूर्ण गाउपालिकाले सर्वोदय माविका साथै सबै वडाका स्वास्थ्य संस्थामा तीन÷तीन बेडको क्वारेन्टिन बनाएको थियो । रघुगंगाले ८ वटा वडामा पाँच÷पाँच बेडको, मंगला गाउपालिकाले बाबियाचौरको मंगला मावि, मालिका गाउपालिकाले जनप्रिय मावि र धवलागिरी गाउपालिकाले ताकम मावि, जनविकास आधारभूत, धनजनता मावि, धवलागिरी आधारभूत विद्यालयमा क्वारेन्टिन सञ्चालन गरेका थिए ।

पछिल्लो पटक बिदेशबाट आउने सबै नागरिकलाई उद्धार गरेर ल्याई बेनिकै क्वारेन्टिनमा राख्ने र उनिहरुको खाने बस्ने सुबिधा पालिकाहरुले ब्यवस्था मिलाएका थिए । म्याग्दीलाई कोरोनाबाट सुरक्षित बनाउन अन्तरजिल्ला आवत जावत गरिएको कडाईलाई निरन्तरता दिएको छ ।

अत्यावश्यक सामान ल्याएर बेनी बजारका लागि आउने ढुवानीका साधन कालीपुल प्रवेश गर्दा १ जना सवारी चालक मात्र प्रवेश गर्न दिने, ढुवानीका साधनलाई डिसइन्फेक्सन गर्न थालिएको छ । विद्यालय तथा कार्यालयहरुलाई शिक्षक कर्मचारीको अन्तरजिल्ला आवत जावत निरुत्साहित गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ ।

परिचय खुल्ने कागजात ल्याएर आउने पर्वतको जलजला गाउपालिका बाहेकका नागरिकका लागि कालीपुलमा होल्डीङ सेन्टर बनाइएको छ । कोरोनाको जोखिम बढेकाले कोरोना रोकथामका लागि संघ, प्रदेश, जिल्ला र पालिका स्तरबाट भएका पहललाई प्रभावकारी बनाउन प्रशासनले भदौ २ गते बेनीमा सर्वपक्षीय बैठक बोलाएर छलफल गरेको थियो ।

पछिल्लो अवस्थाको जोखिम बिश्लेषण गर्दै जिल्ला स्तरमा साझा रणनीति बनाएर कोरोना रोकथामका लागि गतिबिधि केन्द्रित गर्न पहल भएको प्रजिअ अधिकारीले बताउनुभयो । अन्तरजिल्ला आवत जावतको माध्यमबाट म्याग्दीमा कोरोनाको जोखिम बढेको बिष्लेषण गरिएको छ ।
शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, ब्यापारी, एम्बुलेन्समा नक्कली बिरामी बनेर र ढुवानीका साधनबाट हुने आवत जावत जोखिमका कारण बनेको छ । काठमाडौ, पोखरा, बागलुङ, चितवन, बिरगञ्ज, बुटवल लगायत जिल्ला तथा शहरमा हुने आवत जावत जोखिमयुक्त मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...