धौलागिरि खबर

बेनी सामुदायिकमा “सेटिङ” मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा

बेनी । बेनी सामुदायिक माध्यमिक विद्यालयले मावि तहको राहत दरबन्दिमा विज्ञान विषयको करार शिक्षक नियुक्तिका लागि २०७६ पुष ५ गते १५ दिने सूचना निकाल्यो ।

अन्तिम दिन पुष १९ गते सम्म सोही विद्यालयको निमावि तहका अस्थाई विज्ञान शिक्षक सुनिल बानिया र जलजला गाउपालिका–३ का यज्ञ खत्रीको मात्र निवेदन प¥यो । पुष २० गते दिउँसो तीन बजे परिक्षा समय तोकिएको थियो ।

‘परिक्षा हुनु भन्दा ३ घण्टा अघि विद्यालयका प्रअ दिपक श्रेष्ठले कार्यकक्षमै बोलाएर परिक्षामा औपचारिकताका लागि मात्र सहभागि भएर बानियालाई नियुक्ति हुने वातावरण बनाउन आग्रह गर्नुभयो,’ खत्रीले भन्नुभयो ‘बानियालाई नियुक्ति गर्ने पुर्वयोजना अनुसार सेटिङ मिलाएर अरुलाई आवेदन दिन रोक लगाइएको रहेछ् । मैले चौतर्फी घेराबन्दिका बिच आवेदन दिएको थिए । तपाई आउदा असहज होला । अप्ठ्यारो पर्ला भनेका थिए । अहिलेसम्म टर्चर दिइरहेका छन् ।”

अडियो रेकर्डमा “बानियाका लागि सहयोग गरिदिन” आग्रहको भाषा कुराकानी सुरु गरेका श्रेष्ठले “परिक्षामा सहभागि भएर शिक्षक नियुक्त भएपनि मावि तहमा पढाउन नदिने र असहयोग गरेर अप्ठ्यारो पार्ने” भन्दै धम्कीको भाषा प्रयोग गर्नुभएको छ ।

बेनी सामुदायिकलाई तत्कालीन एसएलसी परिक्षाको नतिजाको आधारमा शिक्षा मन्त्रालयले उत्कृष्ट र नमुना घोषणा गरेको थियो । रिखार दैनिकलाई मंगलबार प्राप्त अडियोले सामुदायिक विद्यालयमा शिक्षक नियुक्तिका क्रममा हुने अनियमितता, मनोमानी र चलखेलको तथ्य उजागर गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिका पदाधीकारी, प्रअ, जनप्रतिनिधि, कर्मचारी र पहुँचवाला व्यक्तिले आफन्त, कार्यकर्ता, अनुकुलका व्यक्तिलाई “सेटिङ” मिलाएर शिक्षकको जागिर खुवाउने गरेको गुनासो बढेको छ ।

आफू अनुकुलका व्यक्तिलाई जागिर खुवाउन परिक्षा अघिनै उमेद्वारलाई प्रश्नपत्र दिने, विज्ञापनको सूचना लुकाउने, आवेदन दिनबाट बञ्चित हुन बाध्य पार्ने, मन नपरेका व्यक्ति शिक्षक भएमा असहयोग गर्ने विकृति मौलाएको छ ।

कतिपयले करार शिक्षकको जागिर खानका लागि एक अथवा आधा वर्षको तलब घुस खुवाउनु परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत गरेका छन् । अख्तियारमा पर्ने शिक्षा सम्बन्धी धेरै उजुरी शिक्षक नियुक्तिसँग सम्बन्धित छन् ।

सामुदायिक विद्यालय राजनीति गर्ने थलोका रुपमा विकास हुनुका साथै पठनपाठन र विद्यार्थीको सिकाई उपलब्धिमा असर परेको छ । अर्कातर्फ योग्य र सक्षम व्यक्ति अवसरबाट बञ्चित भई बेरोजगार बन्नुपरेको छ ।

प्रअ श्रेष्ठले तल्लो तहमा कार्यरत शिक्षकको योग्यता र चाहना अनुसार माथिल्लो तहमा अवसर दिन प्राथमिकता दिने विद्यालयको विगत देखिको नजिर रहेको बताए । तर शिक्षा सम्बन्धी कुनै पनि ऐन नियममा श्रेष्ठले भनेको र बेनी सामुदायिकमा भएको अभ्याससँग मिल्ने नीतिगत ब्यवस्था छैन् ।

‘हाम्रो विद्यालयमा तल्लो तह र निजी स्रोतमा पढाएका शिक्षकलाई माथिल्लो तहमा लाने विगत देखिको अभ्यास हो,’ उनले भने ‘निमावी राहतका शिक्षक बानियालाई माविमा लैजाने ब्यवस्थापन समिति, हामी शिक्षक स्टाफहरुको चाहना अनुसार सहयोग गरिदिन खत्रीलाई अनुरोध गरेका हौ । उहाँलाई आवेदन र परिक्षाबाट बञ्चित गरिएको होइन् ।’

प्रअ श्रेष्ठले यसअघि पनि प्रक्रिया पु¥याएर विद्यालयमै पढाइरहेका शिक्षकहरुलाई प्राथमिकता दिएर शिक्षक नियुक्ति गरेको स्विकार गर्नुभयो । बेनी नगरपालिकाका स्रोत व्यक्ति मोहन बानिया, विषय विज्ञ हरिकृष्ण सुवेदी र रामप्रसाद सुवेदीले लिएको परिक्षाको नतिजामा बढी अंक प्राप्त गरेको आधारमा भएको सिफारिस अनुसार बानियालाई शिक्षक नियुक्ति गरिएको ब्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

‘परिक्षा समितिले सिफारिस गरेको आधारमा नियुक्ति गरिएको हो । जो आएपनि हामीलाई स्विकार्य थियो,’ उनले भने ‘प्रतिरोधको भावनाले विद्यालयलाई बद्नाम गर्न यो विषय उठाइएको छ ।’

बेनी सामुदायिकलेनै पुष अन्तिम साता निमावी तहको कम्प्युटर सहित विज्ञान विषय शिक्षकका लागि आवेदन मागेको थियो । १५ दिने सूचनाको म्यादभित्र आवेदन नपरेपछि दोस्रो पटक ७ दिने सूचना निकाल्दा योग्यता संसोधन गरेको थियो ।

सो पदमा पनि विद्यालयले आवेदन लिन नमानेपछि बेनी नगरपालिका–१ का टेकबहादुर थापाले बेनी नगरपालिकाको शिक्षा शाखा मार्फत आवेदन दिएर परिक्षामा सहभागि हुनुभएको थियो । उहाँ परिक्षा मार्फत शिक्षक छनौट पनि हुनुभयो ।

प्रअ श्रेष्ठले भने निर्धारित समयभित्र तोकिएको योग्यता अनुसारको आवेदन नआएकाले दर्ता नगरिएको प्रतिक्रिया दिदै नगरपालिकामा दर्ता भएको आवेदन बाट प्रक्रिया अघि बढाएको बताउनुभयो ।

राज्य पुनसंरचनासँगै सामुदायिक विद्यालयमा रिक्त भएको शिक्षकको लागि विज्ञापन खुलाउने अनुमति दिने अधिकार स्थानीय तहले पाएका छन् । परिक्षा मिति समेत उल्लेख गरेर १५ दिनेको सूचना निकाल्ने, सम्बन्धित स्थानीय तहका विद्यालय निरिक्षक र दुई जना विषय विज्ञ सहित विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष संयोजक र प्रअ सदस्य सचिव रहने करार शिक्षक छनौट समिति हुन्छ ।

विषय विज्ञ सूचिकृत भएको हुनुपर्छ । शिक्षक छनौट गर्न म्याग्दीको धवलागिरी, मालिका र धवलागिरी गाउपालिकाले विषयविज्ञ सूचिकृत गरेका छन् । बेनपा, रघुगंगा र अन्नपूर्ण गाउपालिकाले तत्कालिन शिक्षा कार्यालयमा सूचिकृतलाई विषय विज्ञ राख्ने गरेका छन् ।

१०० पूर्णांकको लिखित, ३ अंकको शैक्षिक योग्यता र १० अंक अन्न्तरवार्ताको हुन्छ । अन्तरवार्तामा ३५ प्रतिशत भन्दा कम र ७० प्रतिशत भन्दा बढी अंक दिदा कारण खुलाउनुपर्छ । बढी अंक प्राप्त गर्नेलाई परिक्षा समितिले सिफारिस गरेको आधारमा विद्यालय ब्यवस्थापन समितिले करार सम्झौता गरि नियुक्ति दिने प्रक्रिया छ

‘शिक्षक नियुक्ति ब्यवस्थापन समिति र परिक्षा सञ्चालन गर्ने अधिकार पालिकालाई छ,’ शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले भन्नुभयो ‘परिक्षालाई प्रभावित बनाउन खोजिए तत्कालै छनौट समितिलाई उजुरी गर्न सकिन्छ ।’

म्याग्दीमा २३२ वटा सामुदायिक विद्यालय छन् । प्राबि, निमावि र माविमा क्रमश ः ६९७, १७५ र ११५ जना शिक्षक दरबन्दि छ । प्राबि, निमावि र माविमा क्रमश ः १३४, ७१ र ५० वटा राहत दरबन्दि छ । साविक उच्च माविमा १३ जना दरबन्दि र २७ जना राहत शिक्षक छन् । ५० वटा तह शून्य दरबन्दिका छन् ।

यसअघि समुदायले चन्दा र सहयोग जुटाएर शिक्षकको तलब ब्यवस्थापन गर्दै आएका थिए । स्थानीय तह स्थापना भएपछि पालिकाहरुले निजी स्रोतका शिक्षकको तलब ब्यवस्थापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Loading...