धौलागिरि खबर

दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण

दाना । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तरगत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्का मार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ ।

४० मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चर बिच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । रु. पाँच करोड ७६ लाख ८० हजार ५५६ को लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ ।

Rara Auto Mobiels

पुल हस्तान्तरण भएपछि सवारी आवत जावतका लागि खुल्ला गरिएको आयोजना प्रमुख अशोक तिवारीले बताउनुभयो । आयोजनाका अनुसार यो पुल प्रिस्टीङ प्रबिधिको हो । यसअघि घट्टे खोलाबाटै सवारी साधन आवत जावत गर्थे । पुल बनेपछि घट्टेखोलामा बाढी आउँदा सडक अवरुद्ध हुने समस्या हटेको छ ।

ढलानको तयारी गरेको अवस्थामा २०७६ जेठ ११ गते घट्टेखोलामा आएको बाढीले सटिङ गरेका सामग्री बगाउदाँ निर्माण अवधि एक वर्ष ढकेलिएको निर्माण कम्पनीका प्रतिनिधि रबी कार्कीले बताउनुभयो ।

उहाँका अनुसार कोरोना भाइरसको जोखिम र बन्दाबन्दिको असहज अवस्थामा पनि घर नगएका मजदुरलाई परिचालन गरेर पुल निर्माण सम्पन्न गरिएको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अन्तरगत गलेश्वर, तिप्ल्याङ, पोखरेबगर र रुप्से खोलामा मोटर चल्ने पुल निर्माणाधिन अवस्थामा छन् ।

रुप्सेखोला, घाँसाखोला र घैकुखोलामा निर्माणाधिन पुलमा गत साउन ५ गतेको बाढीले क्षति पु¥याएको छ । बाढीले पर्खाल भत्काएको गलेश्वर स्थित राहुघाट नदी माथिको बेलिब्रिज मर्मत भएको छ ।

गत असार २६ गते बिहान रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको पर्खाल मर्मत गरेर साउन २७ गतेदेखि सवारी सञ्चालन गरिएको हो । पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक मर्मत गरेर सोमबारदेखि सिधा यातायात सञ्चालन भएको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...