
बेनी, ः पहिरोको जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ फगामका बासिन्दाले बस्ति स्थानान्तरणको माग गरेका छन् ।
भिरालो पाखोमा रहेको फगाम गाउँको जमिन धाजा फाटेर चिरा चिरा भई बग्न थालेपछि पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले घरको पर्खाल, खेतबारी र बगैचा चिराचिरा परेर पहिरोसँगै बग्न थालेको छ ।
पहिरोले घरमा क्षति पु¥याएपछि ५ घर विस्थापित भएका स्थानीयबासी दुर्गादत्त सुवेदीले बताउनुभयो । फगाम गाउँमा ३८ घरधुरीको बसोबास छ । “घरको पर्खाल चिरिएको छ । जमिनसँगै घर ढल्किएका छन,” सुवेदीले भन्नुभयो “तल देखि माथि सम्मको पुरै बस्तिमा पहिरोले चिरा चिरा बनाएकाले स्थानान्रणको माग गरेका छौ ।”

वडा अध्यक्ष नरसिंह पुर्जाका अनुसार सन्तु बरुवाल, नरमान थापा, ओमप्रसाद थापा, मंगली पुर्जा र गणेश कटुवाल क्षेत्रीका परिवार विस्थापित भएका छन् । उनिहरुले घरका सामान अन्यत्र लगेर राखेका छन् । दिउँसो खेतबारीको कामका लागि घरमा जाने उनिहरु साँझ सुत्नका लागि सुरक्षित ठाउँमा भएका आफन्तकहाँ जाने गरेका छन् ।

खेतियोग्य जमिन, सुन्तलाको बगैचा र खरबारीमा पनि पहिरोले क्षति पु¥याएको छ । पैदलमार्ग र सडक पहिरोले भत्काएकाले आवत जावत गर्न समस्या भएको छ । फगामबासीहरुले वडा, गाउपालिका कार्यालय, प्रदेश सांसद बिनोद केसी र संघीय सांसद भूपेन्द्र थापा समक्ष बस्ति स्थानान्तरणका लागि पहल गरिदिन माग गरेका हुन् ।
फगाम गाउँको करिब पाँच सय मिटर तल मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक निमार्णाधिन अवस्थामा छ । दाना–कुश्मा प्रशारण लाईन आयोजनाले टावर निर्माणका लागि सामान ढुवानी गर्न जलथले हुदै गाउँको बिचबाट दुवाडीखोला सम्म सडक खनेको थियो ।
सडक निर्माण र विस्तारका क्रममा प्रयोग भएको उपकरणको कम्पनले हल्लीएको जमिनमा अत्याधिन वर्षा भएपछि पानीका मुल फुटेपछि पहिरो सक्रिय भएको स्थानीयबासीले बताएका छन् । फगामका बासिन्दालाई स्थानान्तरणका लागि अन्नपूर्ण गाउपालिकाले अध्ययन सुरु गरेको छ ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, २ नम्बर वडाका अध्यक्ष ओमप्रकाश फगामी, प्राबिधिक बालकृष्ण पौडेल, दाना र भुरुङ्ग तातोपानी प्रहरी चौकीको टोलीले शुक्रबार पहिरो प्रभावित फगाम गाउको स्थलगत निरिक्षण गरेको थियो ।
पहिरोको उच्च जोखिम भएकाले स्थानान्तरणका लागि प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको निरिक्षणमा जानुभएका वडा अध्यक्ष फगामीले जानकारी दिनुभयो । अस्थाई रुपमा गुइठेमा त्रिपालको टहरा बनाएर राख्ने तयारी गरिएको छ ।
प्रदेश र संघीय सरकारलाई अनुरोध गरेर भूगर्भबिद्को टोलीबाट अध्ययन गराई सो टोलीले दिने निर्णयको आधारमा पहिरो नियन्त्रण गरेर त्यही राख्ने अथवा अन्यत्र जग्गा खोजेर स्थानान्तरण गर्ने भन्ने विषयमा निर्णय लिइने गाउपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।
