धौलागिरि खबर

प्रजिअ ढकालद्धारा आफ्नो कार्यकालमा भएका गतिबिधि सार्वजनिक

बेनी, २७ साउन । गृह मन्त्रालयमा सरुवा हुनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मंगलबार सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा बिदाई भेटघाट कार्यक्रम आयोजना गरेर प्रजिअ ढकालले आफ्नो कार्यकालमा सहयोग गर्नेहरुलाई धन्यवादका साथै गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

विकास र विपद् ब्यवस्थापनमा आफ्नो कार्यकाल केन्द्रित भएको प्रजिअ ढकालले बताउनुभयो । कालीगण्डकी कोरीडोर प्रशारण लाइन अन्तरगत पोखरेबगर क्षेत्रमा ४ वर्षदेखि रोकिएको प्रशारण लाइन र टावर निर्माणमा अन्तिम चरणमा पुराएको, अलपत्र परेको गलेश्वर देखि बेगखोला सम्मको सडक स्तरोन्नितिलाई गति दिएको र अन्य विकास आयोजनामा देखिएका बिवाद तथा समन्वय समाधान गरेर अघि बढाउन सफल भएको प्रजिअ ढकालले बताउनुभयो ।
कोरोना रोकथाम र विपद् ब्यवस्थापनको काममा स्थानीय तह, प्रदेश र संघीय सरकारका निकायबीच समन्वय गरेर प्रभावकारी काम गरेको ढकालको दावी थियो । २०७६ साउनमा म्याग्दीमा आउनुभएका ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ । ढकालको ठाउँमा गृह मन्त्रालयका सहायक प्रबक्ता तारानाथ अधिकारी म्याग्दीको प्रजिअ भएर आउदै हुनुहुन्छ ।

यसैबीच प्रजिअ ढकालले कोरोना रोकथामका लागि सहयोग गर्ने सामाजिक संघ संस्था र व्यक्तिहरुलाई पनि प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको छ । प्रजिअ ढकालको बिदाइका क्रममा कर्मचारी मिलन केन्द्रले जिल्ला विपद् ब्यवस्थापन कोषमा ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

बाढी पहिरोजन्य विपद्बाट प्रभावितहरुको सहयोगका लागि कर्मचारी मिलन केन्द्रका अध्यक्ष चन्द्रशेखर सापकोटाले प्रजिअ ढकाललाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
Loading...