धौलागिरि खबर

मर्मतपछि गलेश्वरको बेलिब्रिजमा सवारी सञ्चालन

बेनी, २७ साउन ः म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर स्थित बेलिब्रिज एक महिनापछि मंगलबार साँझबाट सञ्चालनमा आएको छ ।

गत असार २६ गते बिहान रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको जिप राखिएको पर्खाल पुननिर्माण गरेर पुल सञ्चालन गरिएको हो । राहुघाट तर्फको बेलिब्रिजको बिम राखिएको पर्खाल भत्किएको थियो । मर्मतको काम सकिएपछि हलुका सवारी साधन सञ्चालनका लागि खुला गरिएको बेनी–जोमसोम सडक आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख अशोक तिवारीले पर्खालको माथिल्लो भागमा गरिएको कंक्रिट ढलान पूर्ण रुपमा जमेपछि भदौ ८ गतेदेखि १६ टन सम्म क्षमताको मालबाहक र ठूला गाडी समेत सञ्चालन गरिने बताउनुभयो ।

Rara Auto Mobiels

पुल मर्मतका लागि ८ मिटर अग्लो ४४६ घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पर्खालबाट नदीको सतहमा खसेको बेलिब्रिजलाई क्रेनको सहायताले ५ मिटर माथि तानिएको छ । सडक बिभागको आकस्मिक मर्मत कार्यक्रमको बजेटबाट पुल मर्मत गरिएको आयोजनाका सब इञ्जिनियर गजेन्द्रप्रसाद यादवले बताउनुभयो । वाइट

“सडक बिभागले गरेको प्राबिधिक अध्ययन अनुसार बेलिब्रिजको अन्य भागमा असर नगरेकाले भत्किएको ठाउँमा पर्खाल निर्माण गरेर मर्मत गरेका हौ,” उहाले भन्नुभयो “सुरु गरेको करिब २५ दिनभित्रनै पुल तयार पार्न सफल भयौ ।”

रावतका अनुसार करिब रु. पचास लाख लागत अनुमान गरिएको पुल मर्मतमा हालसम्म ४६ लाख खर्च भैसकेको छ । रु. नौ लाख ७५ हजार खोलामा खसेको पुललाई क्रेनले तान्न, ग्यावीयन पर्खाल निर्माण गर्न ३४ लाख र रु. दुई लाख पुलको अन्य भाग मर्मतमा खर्च भएको छ ।
पुल मर्मतका लागि म्याग्दीका जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी र विभिन्न संघ संगठनका प्रतिनिधिहरुले ढुङ्गा संकलन तथा ढुवानी र ग्यावीयन पर्खाल निर्माणका लागि श्रमदान गरेका थिए । श्रमदानबाट राहुघाटको बस्ति संरक्षणका लागि पनि ग्यावीयन पर्खाल निर्माण गरिएको रघुगंगा गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

बेलिब्रिजको छेउमा निर्माणाधिन पक्कि पुलको ठेकेदारलाई पनि काममा फर्काइएको छ । गलेश्वरमा वि.स. २०६४ मा नेपाली सेनाले २५ मिटर लामो बेलिब्रिज निर्माण गरेको थियो । गलेश्वरको पुल मर्मत भएपछि बेनी देखि अन्नपूर्ण गाउपालिका–३ खामभित्ता सम्म यातायात सञ्चालन हुन थालेको छ । जोमसोम तर्फबाट घाँसा हुदै काभ्रेभिर सम्मको सडक मर्मत सकिएको छ । रुप्से, तितर र काभ्रेभिरमा पनि सडक मर्मतको काम भैरहेको आयोजना प्रमुख तिवारीले बताउनुभयो ।
७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका साथै म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउपालिकामा दैनिक उपभोग्य, निर्माण सामग्री, इन्धन ढुवानी र कृषि उपज निकासी हुन सकेको छैन् । बिरामीहरु अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपरेको छ ।

Khanipani
प्रतिक्रिया दिनुहोस
Loading...