धौलागिरि खबर

पहिरो प्रभावित क्षेत्रमा खानेपानी हाहाकार

बेनी, । म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । धवलागिरि गाउँपालिका–६,मराङ, मालिका गाउँपालिका ७ विम र बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या देखिएको हो ।
गत असार २६ गते बिहान आएको पहिरोले गाउँ नजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको छ । पहिरोले बस्तीभित्र ल्याइएको खानेपानीको पाइप क्षतिग्रस्त भएपछि तत्काल पाइपको अभाव र मुहानसमेत पहिरोले पुरेको शुद्ध पिउने पानीको अभाव भएको पहिरो पीडितको भनाइ छ ।
आकाशे पानी संकलन गरी पिउन बाध्य छन् । पहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएपछि सबैले घरबाहिर आकाशे पानीका लागि गाग्री थाप्नुपरेको छ । पहिरोले बस्ती नजिकै रहेका पानीको मुहान, पाईपमा क्षती पुगेको अवस्थामा तत्काल नयाँ योजना सहित मर्मत गर्नुपर्ने धवलागिरी गाउपालिकाका कार्यपालिका सदस्य तिलकुमारी केसीले बताउनुभयो ।
घरघरमा रहेका पानीका धारामा पानी आउन छोडेपछि सरसफाई, लुगा धुनसमेत समस्या भएको स्थानीयको भनाई छ । वडाभित्र करिब १७ सय जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरिदिएको छ भने २ सय २ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जीवन बिताइरहेका छन ्। करिब ४ सय घरधुरी छ ।
पहिरोले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता छन ्। यता मालिका गाउँपालिका–७ बिममा समेत पहिरोले एक करोड ४३ लाख रुपैयाँको लागतमा दुई वर्षअघि निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजना बगाएपछि खानेपानीको हाहाकार मच्चिएको छ । बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटर माथि रहेको रिजर्भ टंकीमा पु¥याएर करिब १ सय ५० घरधुरीलाई वितरण भइरहेको खानेपानी गएको असार २५ गतेको पहिरोले बगाएपछि खोल्साखोल्सीको पानी पिउन बाध्य छन् ।
बिमको बाईन्दफाँटको अर्को आयोजना पनि पहिरोले बगाएको छ । दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षती र ७० घर पहिरोको उच्च जोखिममा छन् । पाइप ल्याएर पुरानो आयोजनाको संरचनाबाट खानेपानी आपुर्ति गराउन लागिएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Loading...