धौलागिरि खबर

पहिरोले कल्लेनीलाई मानवबिहीन बनायो

बेनी, २१ साउन ः पहिरोले म्याग्दीको धवलागिरी गाउपालिका–६ कल्लेनी गाउँलाई मानवबिहिन बनाएको छ ।

गाउँ माथिको माख्लाको भिरबाट खसेको पहिरोको जोखिमका कारण कल्लेनीका बासिन्दाले गाउँ छाडेका हुन् । असार २७ गते घर छोडेर शिवाङको हेम माविमा गएर बसेका कल्लेनीबासी अझै गाउँ फर्कन नसकेको स्थानीय रत्नप्रसाद पुनले बताउनुभयो ।

‘‘वरिपरी पहिरोले घेरेर उराठलाग्दो बनाएको छ,’’उहाले भन्नुभयो “गाउँमा कोही पनि छैनन् । मानवबिहीन भएको छ ।” गत असार २६ गते बिहान पहिरो खसेपछि विस्थापित भएका कल्लेनीबासीलाई धवलागिरी गाउपालिकाले हेम माविको भवनमा अस्थाई बसोबासको ब्यवस्था मिलाएको हो ।

Rara Auto Mobiels

२८ परिवारका ५० जना भन्दा बढी करिब एक महिनादेखि विद्यालय भवनमा सामुहिक रुपमा बस्दै आएका छन् । ५ परिवार विद्यालयबाट ताकममा रहेका आफन्तकहाँ सरेका पहिरो पिडितको अगुवाई गरेका डिके पुनले बताउनुभयो ।

पहिरोले गाउँ फर्कने अवस्था नभएपछि घरमा पालिएका बाख्रा, कुखुरा, गाई, भैसी बेचेका छन् । पाकेको मकैबाली भित्र्याउन र बारीमा लगाएको कोदो गोड्न नपाएको स्थानीय भेष पुनले बताउनुभयो । घासपानी दिन जान नसकेपछि हलगोरु बारीमा छाडेको उहाले बताउनुभयो । शिवाङ देखि कल्लेनी पुग्न डेढ घण्टा हिड्नुपर्छ ।

खानेपानी आयोजनाको संरचना पहिरोले बताएको छ । पहिरो खस्ने क्रम रोकिएको छैन् । गाउँमा जाने र निस्कने नाकाको बाटो पहिरोले भत्काएको छ । जान आउन जोखिम मोल्नुपर्छ । घर पहिरोले पुरिएपछि बहिनीकहाँ आश्रय लिएर बसेको कल्लेनीकी कमला घर्तीले बताउनुभयो ।
पहिरोमा पुरिएर घर्तिकी सानीआमा जानीमा वेपत्ता र भाई प्रकाश केसीको मृत्यु भएको थियो । प्रकाशको घरमा सुत्न गएका सबिन पुन वेपत्ता छन् । परदेवी पुन र बिरबहादुर पुनको घर पहिरोले बगाएको थियो ।

एक सय रोपनी भन्दा बढी धानखेत, कोदोबारी र सुन्तला बगैचा पहिरोले बगर बनाएको छ । मगर समुदायको बाहूल्य बसोबास भएको कल्लेनी साविक मराङ गाविसको ३ नम्बर वडामा पर्छ । सडक, विद्युत सुबिधा पुगेको थियो ।

घरघरमा खानेपानी सुबिधा थियो । सुन्तला खेतिलाई विस्तार गरेर आयआर्जनको माध्यम बनाउन थालेका थिए । दिर्घकालिन बसोबासका लागि गाउँमै फर्कने अथवा अन्यत्र बसाईसराई गर्ने भन्नेमा कल्लेनीबासी अन्यौलमा छन् ।

“गाउँमा जादा पहिरोको डर छ,” परदेवी पुनले भन्नुभयो “अन्यत्र जाने घर, जग्गा छैन् ।” पहिरोका कारण धवलागिरी गाउपालिकाको ६ नम्बर वडामा पर्ने कल्लेनी, राम्चे, रिख, कुम्रि र ठूलोगाउँमा १९ जनाको मृत्यु भएको छ । दुई जना वेपत्ता छन् । करिब ४० वटा घर भत्किएका छन् ।
दुई सय भन्दा बढी परिवार घर जोखिममा परेकाले विस्थापित भएका छन् । पुरै वडा पहिरोले चिरा, चिरा बनाएको वडा अध्यक्ष राजाराम सुवेदी बताउनुभयो । पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरु विद्यालय, सामुदायिक भवन र टहरा बनाएर बसेका छन् ।

पहिरोले मराङ, धारापानी, ताकम र काफलडाडाको बस्ति प्रभावित बनाएको धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । ‘‘सहरबजारमा घर घडेरीभएकाहरु त्यतै सरेर जान थालेका छन,’’ उहाले भन्नुभयो ‘‘बस्दै आएको ठाउँमा बस्न नमिल्ने र अन्यत्र केही नभएकाहरुको पहिचान गरेर स्थाई बसोबासका लागि एकिकृत बस्ति विकास गराउने छलफल चलाएका छौ ।’’

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...