धौलागिरि खबर

पहिरोमा म्याग्दी र न्यूनिकरणका उपायहरु

ई. अञ्जन खत्री

८% बेसी क्षेत्र, ५६% उच्च पहाडी क्षेत्र र ३६% हिमाली क्षेत्रको भू–बनोट भएको म्याग्दी जिल्लाका पर्वतश्रृंखला अन्य महादेशका पर्वतहरु भन्दा कमलो प्रकृतिका छन । यिनको उत्पत्ति अन्यको तुलनामा नयाँ मानिन्छ । म्याग्दी जिल्लामा बार्षिक न्युनतम ४०७ मि.मि. र अधिकतम २९६० मि.मि. सरदर बर्षा हुने गरेको देखिन्छ । करिब ९२% उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्र र यस क्षेत्रमा हुने घना बर्षाको कारण हरेक बर्ष जाने पहिरोबाट अधिकतम जनधनको क्षती हुनु म्याग्दी जिल्लाको नियति जस्तै बनेको छ । यसोत पहिरोबाट हुने मानवीय क्षतीको जोखिम सूचक (  Mortality Risk Index ) मा नेपाल विश्वको १० सवैभन्दा बढी क्षती हुने मुलुक मध्ये एक पर्दछ । पहिरो बर्षा र सुख्खा दुवै याममा जान सक्दछ । भिरालो जमीन अस्थिर भई माटो, ढुङ्गा वा चट्टान तलतिर खस्ने अथवा पानीसंग मिसिएर बग्ने प्रक्रियालाई भूस्खलन वा पहिरो भनिन्छ । पहिरो छिटो जानसक्ने ( Rapid Onset ) र विस्तरै आउन सक्ने (Slow Onset ) दुवै प्रकारको प्रकोप हो ।

पहिरो सिर्जना हुनुका कारणहरु

Rara Auto Mobiels

पहिरो सिर्जना हुनका लागी भौगर्भीक÷प्राकृतिक प्रक्रिया र मानवीय क्रियाकलाप दुवैले भुमिका खेलेका हुन्छन । सामान्यतः पहिरो ३ प्रकारका हुन्छन– सोहोरिएर आउने ( Debris Flow ), पाखो भत्कने ( Slope Failure ) र पाखो चिप्लने ( Landslide ) । पहिरो यन्त्रीकरणमा महत्वपूर्ण भुमिका खेल्ने एकमात्र तत्व पृथ्वीको गुरुत्वाकर्षण वल नै हो । भिरालो जमिन, कमजोर भू–धरातल र घना वर्षाका कारण पहाडको माटो र चट्टान अस्थिर भई पृथ्वीको गुरुत्वाकर्षण वलको प्रभावका कारण भू–स्खलन हुनु नै पहिरो सिर्जना हुनुको भौगर्भिक÷प्राकृतिक कारण हो । वन फँडानी, अव्यवस्थित मानवीय बस्ती र संरचना, मानव उत्खनन, पहिरो जानसक्ने क्षेत्रमा विना प्राविधिक अध्ययन स्थानीय सरकारहरुबाट भैरहेको सडक निर्माण, सिंचाइको कुलो र नहरको अव्यवस्थित प्रयोग इत्यादी पहिरो सिर्जना हुनुका मानवीय कारणहरु रहेको आंकलन गर्न सकिन्छ । यस संगै जनसंख्या वृद्धि, भू–उपयोगमा परिवर्तन, अव्यवस्थित विकास योजना, जलवायु परिवर्तनबाट बर्षामा आएको परिवर्तन इत्यादी कारणहरुले पनि म्याग्दीमा पहिरोको उच्च जोखीममा प्रत्यक्ष वा परोक्ष रुपमा मद्दत पु¥याएको देखिन्छ ।

पहिरो जोखिम न्यूनिकरणको रणनिती
भूक्षय, स–साना दरार ( Roll erosion ) र गल्छी कटान ( Gully erosion ) ले पछि पहिरोको रुप लिन सक्छन । भल तर्काउने, गल्छी नियन्त्रण गर्ने, बायो ईन्जिनियरिङ्ग बिधि अपनाउने, बन फडानी र अति चरिचरणलाई समयमै नियन्त्रण गर्न सकियो भने साना परिमाणको पहिरोको जोखिमलाई स्थानिय स्तरमा न्यूनिकरण गर्न सकिन्छ । ठूलो परिमाणको पहिरोको लागी भने भूगर्वविद, भूगर्व ईन्जिनियर, विपद विशेषज्ञ तथा भूसंरक्षण विदहरुको प्राविधिक सल्लाहमा जैविक ईन्जिनियरिङ्ग प्राकृतिक संरचनागत अल्पिकरणका उपायहरु ( Structural Mitigation Measures) अपनाउनका लागी नेपाल सरकार तथा प्रदेश सरकारको ढोका ढकढक्याउन आवश्यक देखिन्छ । यसमा स्थानीय परम्परागत ज्ञान सिपको पनि त्यत्तिकै महत्व छ । यस संगै पहिरो जोखिम न्यूनिकरणका लागी विपद जोखिम लेखाजोखा गरी त्यसको आधारमा योजना तर्जुमा गरी लागु गर्ने, जनचेतना अभिवृद्धि गर्ने, समुदायको आर्थिक अवस्थामा सुधार ल्याई तिनको विपद सामना गर्ने क्षमता बढाई विपदबाट हुने क्षति कम गर्न दिर्घकालीन महत्वका उपायहरु अवलम्वन गर्न सकिन्छ ।

पहिरो एक भौगर्भिक प्रक्रियाको अंग पनि भएकोले यसको रोकथाम सधै संभव नहुन पनि सक्दछ । त्यसैले पहिरो पूर्व तयारी कार्यको पूर्व चेतावनी प्रणालीको स्थापना र कार्यान्वयन, यस सम्बन्धी जनचेतना अभिवृद्धि, प्रतिकार्य क्रियाकलाप प्रभावकारी रुपमा संचालन गर्न आवश्यक उपकरण तथा सामानको व्यवस्था, आवश्यक स्वयंसेवक तालीम तथा अन्य क्षमता पहिचान तथा तिनको व्यवस्था आवश्यक पर्दछ । अहिलेको अर्को आवश्यकता पहिरो सम्बन्धी अध्ययन गर्नु र यसको जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा कार्यरत संस्थाहरु, दातृ निकाय र म्याग्दीका स्थानीय सरकार बिचको समन्वयलाई सुदृधिकरण गरिनु हो । समग्रमा जमिनको उपयुक्त भू–उपयोग वर्गीकरण गरी उपयुक्त ठाँउमा मात्र विकास कार्यहरु संचालन गर्ने, जोखिम लेखाजोखा गरी जोखिममा रहेका मानव बस्ती अन्यत्र सार्ने र विपद न्यूनिकरणका क्रियाकलापहरु लागु गरिनु पर्दछ । हरेक बर्ष उही क्षती दोहोरिने प्रवृतिले हाम्रो राजनीतिक ईच्छाशक्ति, राज्य संरचना र यसको क्षमता, सरकारी तथा गैरसरकारी संस्थाहरुको प्रयासमा ठूलो कमि रहेको स्पष्ट हुन्छ ।

लेखक जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीमा कार्यरत हुनुहुन्छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...