धौलागिरि खबर

बेनी कालीगण्डकीको कटानको जोखिममा

बेनी, २४ साउन । उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ ।

कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो । करिब दश मिटर दुरिमा लगाइएको ग्यावीयन पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेको छ ।

कालीगण्डकीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काउने खतरा बढेको स्थानीय रमेश श्रेष्ठले बताउनुभयो । गत वर्ष रुपाताल एकिकृत संरक्षण परियोजनाले उपभोक्ता समिति मार्फत निर्माण गरेको तटबन्ध भत्काएको हो ।

Rara Auto Mobiels

यसअघि सो ठाउँमा निर्माण भएको पक्कि पर्खाल २०७५ भदौ २७ गते रघुगंगा नदी थुनिएर आएको बाढीले भत्काएको थियो । गणेशटोलको पछाडीको भागमा कटानको जोखिम बढेको छ । तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको भन्दै बजारबासी चिन्तित भएका छन् ।

कटान रोकथामका लागि रुपाताल एकिकृत विकास परियोजनासँग समन्वय गरेर संरक्षणको काम सुरु गरिने बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । कालीपुल क्षेत्रमा कटान भएको ठाउँमा ग्यावीयन पर्खाल निर्माणको काम भैरहेको छ ।

यसैबीच बेनी नगरपालिका–८ क्याम्पसचोकका बासिन्दा बाढीको त्रासमा छन् । बस्ति माथिको पाखोबाट बाढी आउन थालेपछि सदरमुकाम बेनीको मुख्य बजार क्षेत्र क्याम्पसचोक जोखिममा परेको हो ।

यसअघिका दुई वर्ष रोकिएको बाढी यसपालि आउन थालेपछि त्रास बढेको स्थानीयबासी रवी शर्माले बताउनुभयो । पाखोबाट ढुङ्गा, माटो र काठका टुक्रा सहित आउने बाढीले नाली बुझिएर सडकमा निस्कने गरेको छ ।

नाली फुटेपछि सडक हिलाम्मे हुने, घर र पसलभित्र पसेर सामान नष्ट गर्ने गरेको छ । बाढीबाट क्याम्पसचोकका १२७ घरधुरी प्रभावित भएका छन् । बेनी नगरपालिका र विभिन्न निकायबाट ग्यावियन जाली र वृक्षारोपण गरेपछि २०७५ र २०७६ को बर्खामा बाढी आएको थिएन् ।

यसपालि दुई पटक बाढी आइसकेको छ । अर्थुङ्गे स्थित सेनाको ब्यारेक तलको घुम्तिबाट सडकको नालीबाट आउने बाढी पाखोमा पहिरो गएपछि आयतन बढेर आएपछि क्याम्पसचोकमा डुबान हुने गरेको छ ।

क्याम्पसचोकको बाढीको ब्यवस्थापनका लागि दिर्घकालीन योजनाको आवश्यकता रहेको स्थानीयबासी तथा ब्यवसायीहरुले बताएका छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...