धौलागिरि खबर

बन्दाबन्दीमै सकियो बेनी बजार संरक्षण आयोजना

बेनीमा सञ्चालित नदी नियन्त्रण योजना कोरोनाको त्रास र लकडाउनकै अवधिमा सकिएको छ ।

रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले रु. आठ करोड ७८ लाख रुपैयाँको लागतमा बेनी बजार स्थित कालीगण्डकी र म्याग्दी नदीको किनारमा ४३५ मिटर पक्कि रिटेनीङ र आरसिसी पर्खाल निर्माण गरेको हो । उर्जा, सिचाई तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रम अन्तरगत परियोजनाले बेनीमा दुई वटा ठेक्का मार्फत नदी नियन्त्रण गरेको जनाएको छ ।

लकडाउनको अप्ठ्यारो परिस्थितिका बावजुद पनि निर्धारित समय अगावै योजना सकिएको परियोजनाका इञ्जिनियर राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । ‘‘कालीगण्डकीको बाँया किनार पर्वत तर्फ २०० मिटर ग्याबीयन पर्खाल लगाएका छौ,’’ उहाले भन्नुभयो ‘‘बायाँ किनार म्याग्दीतर्फ आरसिसी र मेसिनरी वाल लगाउने लकडाउनका बीच बर्खा अघिनै सकियो ।’’

रु.तीन करोड ७० लाखमा ठेक्का लिएको नयाबाटो कन्ट्रक्सनले मंगलाघाटमा म्याग्दी नदी किनारमा ८३ मिटर लम्बाई भएको मेसिनरी पर्खाल बनाएको छ । यस्तै कालीपुलको तल्लो भागमा ४५ र माथिल्लो भागमा ५६.७५ पर्खाल लगाएको छ । मेसिनरी पर्खालको उचाई ८ दशमलक ५ मिटर छ । गत असारमा सम्झौता गरेको कम्पनीले एक महिना अगावै काम सम्पन्न गरेको छ ।

२०७५ भदौ २८ गते कालीगण्डकीमा आएको बाढीले निर्माणाधिन पर्खला बगाएपछि रुग्नमा परिणत भएको खड्का कृष्ण कन्ट्रक्सनसँगको ठेक्का मार्फत आरसिसी पर्खाल निर्माण पनि सकिएको छ । रु. पाँच करोड आठ लाख ३२ हजारको लागतमा बाढीले बगाएको ९७ मिटर तथा बाँकी आरसीसी पर्खाल निर्माण पनि सकेको परियोजनाका अर्का इञ्जिनियर कृष्णबहादुर विश्वकर्माले बताउनुभयो ।

उहाका अनुसार बेनी नगरपालिका कार्यालय अगाडी म्याग्दी नदी किनारमा १७३.५ मिटर, खुल्ला मञ्च क्षेत्रमा ७०.५ र कालीगण्डकी किनारमा १४.४५ मिटर लामो छ मिटर अग्लो पर्खाल निर्माण भएको छ । कालीगण्डकीको बाँया किनारमा पर्ने पर्वतको जलजला गाउपालिकाको बगरफाँट र वारीबेनीमा पनि एक करोड पचास लाख रुपैयाँको लागतमा ६०० थान ग्यावीयन पर्खाल निर्माण भएको छ ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पर्ने बेनी नगरपालिका–२ भसभसेको पहिरो र बगरफाँटको कोतखोला नियन्त्रणका लागि पनि रु. पचास÷पचास लाखको लागतमा ग्यावीयन पर्खाल निर्माण सुरु भएको छ । बेनी बजार बर्खा याममा कालीगण्डकी र म्याग्दी नदीमा आउने बाढीको चपेटामा परेको छ । नदी कटानका हिसाबले बेनी देशकै जोखिमयुक्त जिल्ला सदरमुकाम हो ।
नदी नियन्त्रण भएपछि सुरक्षित महशुस गरेका बेनीको मंगलाघाटका अमरबहादुर घिमिरेले बताउनुभयो । लकडाउनका काम हुन नसकेर नदी नियन्त्रण योजना अलपत्र पर्ने र बर्खामा नदीले कटान गर्ने चिन्ताले पिरोलिएका बेनीबासीलाई राहत मिलेको छ । मंगलाघाटकै पुस्कलबहादुर जोशीले बाँकी ठाउँमा पनि पर्खाल निर्माणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उपलब्ध मजदुरहरुलाई सुरक्षा सतर्कता अपनाएर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर नदी नियन्त्रण योजना निर्माण गरेको खड्का कृष्ण कन्ट्रक्सनका प्राबिधिक निश्चल पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Loading...