धौलागिरि खबर

पिप्लेमा सामुदायिक भवन निर्माणमा श्रमदान

पिप्लेमा भवन बनाउन श्रमदान गर्दै स्थानीयबासी । तस्बिर धौलागिरि खबर

पिप्ले, १२ जेठ ः विश्वब्यापी रुपमा फैलिएको कोरोना (भाइरस)को रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदलाई सदुपयोग गरेर म्याग्दीको रघुगंगा गाउपालिका–३ पिप्लेका महिलाहरुले श्रमदान गरेर सामुदायिक भवन निर्माणमा जुटेका छन् ।

पिप्ले स्थित रघुगंगा हाइड्रोपावरको आवास तथा कार्यालय नजिकै उदा आमा समूहको सामुदायिक भवन निर्माण गर्न स्थानीयबासी श्रमदानमा जुटेका हुन् । लकडाउनको फुर्सदको समयको उपभोग र चन्दा संकलन गरेर भवन निर्माण गर्न लागिएको आमा समूहकी अध्यक्ष उदा मल्लले जानकारी दिनुभयो ।

Rara Auto Mobiels

“एक महिनायता आलोपालो गरेर भवन निर्माणका लागि श्रमदान गरिरहेका छन्,” उहाले भन्नुभयो “६० घरधुरीले हालसम्म बीस दिनका दरले श्रमदान गरिसकेका छन् । भवन सकिदा सम्म थप पन्ध्र दिन श्रमदान गर्नुपर्ने अनुमान गरेका छौ ।”

गिट्टी कुट्ने, पर्खाल लगाउने, ढुङ्गा संकलन गर्ने, काठ जुटाउने, ढुवानी गर्नका लागि श्रमदान गरेका हुन् । घरायसी र खेतबारीको कामबाट बचेको समय भवन निर्माणमा उपयोग गरेको गरेको समूहकी सहसचिव दुर्गा शाहीले बताउनुभयो ।

“बन्दाबन्दी र कोरोनाको त्रासले गाउमा सामाजिक, सांस्कृतिक गतिबिधि ठप्प भएका छन्,” उहाँले भन्नुभयो “खेतबारीको काम पनि सकिएकाले फुर्सदको समयलाई भवन निर्माणमा लगाएका छौ ।”

गत चैत महिनादेखि भवन निर्माण सुरु भएको थियो । भवन निर्माणका लागि समूहले रु. पाँच लाखमा करिब चार आना जग्गा किनेको थियो । एक तले भवनको पहिलो तला ढलानको तयारी गरेका छन् । मिस्त्री र ढलानको काममा भने मजदुर परिचालन गरेका छन् ।

रु.२३ लाख लागत अनुमान गरिएको भवनका लागि चन्दा समेत जुटाउन थालिएको छ । हालसम्म सरकारी निकायबाट सहयोग लिएका छैनन् । भवनलाई आर्थिक स्रोतको कमी भएकाले श्रमदान गरेर भवन निर्माणमा सहयोग गरेको स्थानीय गणेशप्रसाद सुवेदीले बताउनुभयो ।

भवन नहुँदा व्यक्तिको घरमा भेला बैठक बस्ने गरेका छन् । समूहका भाडाकुडाहरु पनि व्यक्तिकै घरमा राख्नुपर्दा असजिलो भएको छ । तीन कोठे भवन बनेपछि कार्यालय सञ्चालन, भण्डारणका साथै तालिम, गोष्ठि, बैठक सञ्चालन गर्न सहज हुने जनाइएको छ । भवन निर्माणका लागि सघाउन वडा, गाउपालिका र दाताहरुलाई आमा समूहका पदाधीकारीले अपिल गरेका छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...